पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना, तानसेन ९ वडा कार्यालय र सीप तथा प्रविधि हस्तान्तरण समितिको समन्वयमा होजियारी तालिम सुरू भएको छ ।
दमकडामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले तालिमको उद्घाटन गरेका हुन । एक महिने होजियारी तालिममा १६ जना महिलाको सहभागिता रहेको छ । उद्घाटनमा वडाअध्यक्ष राजेशकुमार अर्यालले मूलुक पूँजीवादी युगमा प्रवेश गरेकाले सीप र प्रविधिमा पोख्त जनशक्ति प्रयोग गरेर उत्पादनमूलक काम गर्नुपर्ने बर्ता । उनले जागिर खाने अन्तर्निरभर, व्यापार गर्ने परनिर्भर र उद्योग गर्ने आत्मनिर्भर हुने भएकाले आफै मालिक हुने काम गर्न जोड दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले होजियारी तालिम सिक्न सजिलो र सञ्चालन गर्न कठिन हुने बताए । तालिम प्राप्त जनशक्तिले उद्योग चलाउन चाहे प्रविधि र उपकरणमा सहयोग गर्न सकिने जानकारी दिए ।
कार्यक्रममा सीप तथा प्रविधि हस्तान्तरण समितिकी अध्यक्ष कल्पना भण्डारीले स्वरोजगारमूलक अभियान नै आजको आवश्यकता भएको विचार व्यक्त गरे ।
मिलिजुली लघुउद्यम केन्द्रका निर्देशक विरबिक्रम सुनारले सीप र प्रविधिको उपयोग विना अबको मान्छेले जीवन चलाउनै नसक्ने बताए । घरेलु तथा साना उद्योग कार्यालयका मनोज घिमिरेको सञ्चालन र कार्यालय प्रमुख देवीराम भण्डारीको अध्यक्षतामा कार्यक्रम चलेको थियोे ।