रानीमहल र श्रीनगरको आम्दानीमा वृद्धि व्यवस्थापन शून्य

 विजयकुमार बौडेल

पाल्पा । तानसेन नगरपालिका भित्र रहेका दुई पर्यटकीय स्थल रानीमहल र श्रीनगरबाट विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि भएको छ । पहिले बोलपत्र आह्वान मार्फत ठेकेदारलाई शुल्क उठाउने जिम्मा दिँदै आएको तानसेन नगरपालिकाले पछिल्लो समय आफैले कर्मचारी व्यवस्थापन गरी शुल्क उठाउन थालेको हो । जसबाट आम्दानी बढेको छ । तर, आम्दानी बढेपनि आम्दानी दिने क्षेत्रको व्यवस्थापनमा ध्यान भने नगरपालिकाले दिएको छैन ।

जसका कारण चौतर्फी रुपमा आलोचित बन्ने गरेको छ । यी स्थलहरुको संरक्षण र व्यवस्थापनका लागि सामाजिक सञ्जालमा व्यापक विरोध भए मात्र काम हुने गरेको छ । सामान्य व्यवस्थापनका विषयमा समेत गम्भीर नहुँदा बाहिरी जिल्ल्लाबाट अवलोकन गर्न आउने पर्यटकहरु निरास बनेर फर्कनुपर्ने बाध्यता रहेको छ । आम्दानी अनुसार यी पर्यटकीय स्थलहरुको सौन्र्दयकरणमा बजेट खर्च गर्दा थप आम्दानीमा वृद्धि हुने तानसेनवासीको भनाइ छ ।

अहिले पाल्पाका यी पर्यटकीय स्थलमा पुगेका पर्यटकहरुले शुल्क उठाए अनुसारको पर्यटकीय क्षेत्रको व्यवस्थापन नरहेको गुनासो गर्ने गरेका छन् । पर्यटकहरुले सामाजिक सञ्जाल फेसबुक मार्फट भिडियो नै बनाएपछि र चर्को आलोचना हुन थालेपछि रानीमहल क्षेत्रको प्रवेशद्वारसहित केही भागमा रंगरोगन गरिएको छ । अन्य स्थानमा भने रंगरोगन गरिएको छैन् । यस्तै श्रीनगर पार्कमा पनि सामान्य खानेपानीको व्यवस्थापन बाहेक अरु काम हुन सकेको छैन् । वन उपभोक्ता समितिसँगको टसलका कारण व्यवस्थापनमा ढिलाई भएको नगरपालिकाको भनाइ छ ।

यसभन्दा अघि श्रीनगर बाट श्रीनगर पर्यापर्यटन तथा वन व्यवस्थापन समितिले कर उठाउँदै आएको थियो । समितिले गतवर्ष ६ लाख २२ हजार ३२ रुपैंयाँ५० पैसा आम्दानी गरेको थियो भने नगरपालिकाले यस वर्ष साउन देखी पौष मसान्त सम्म १२ लाख ५४ हजार ३ सय ६ रुपैंयाँ उठाईसकेको छ । गतवर्ष भन्दा यो वर्ष श्रीनगर बाट ६ लाख ३२ हजार २ सय ७३ रुपैंयाँ ५० पैसा बढी आम्दानी हो ।

त्यस्तै तानसेन नगरपालिकाले रानीमहल दरबार बाट पनी गत वर्ष भन्दा बढी आम्दानी गरेको छ । नगरपालिकाले रानीमहल बाट गत वर्ष भन्दा ५ लाख ३२ हजार ७ सय ४० रुपैंयाँ बढी आम्दानी गरेको हो । गतवर्ष पौष महिना देखि असार सम्म रानीमहल दरबारको आम्दानी २० लाख ८ हजार ७ सय ६० रहेको थियो । नगरपालिकाले यस वर्षको छ महिनामा २५ लाख ४१ हजार ५ सय रुपैंया आम्दानी गरेको छ । गतवर्ष रानीमहल र श्रीनगर घुम्न जाने मुख्य समयमा पनि कम आम्दानी भएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए । कार्कीले यस वर्ष देखि नगरपालिकाले आफ्नै कर्मचारीलाई खटाएर श्रीनगर पार्क र रानीमहल दरबारबाट शुल्क उठाउन थालेपछि आम्दानीमा वृद्धि भएको हो ।

पहिले बोलपत्र मार्फत ठेकेदार छनौट गर्दा मिलेमतोका आधारमा कम प्रतिस्पर्धा हुँदा तोकिएको मूल्यमा समेत टेन्डर नजाने समस्या थियो । कम मूल्यमा जिम्मा लगाउनुपर्ने अवस्था थियो । अहिले नगरपालिका आफैले काम गर्दा आन्तरिक आम्दानीमा वृद्धि भएको राजस्व अधिकृत मधुसुदन घर्तीले जानकारी दिए । पछिल्लो समय नगरपालिकाले व्यवस्थापनमा ध्यान नदिए पनि पर्यटक ल्याउन रानीमहल दरबारको प्रमोसनका लागि रचनात्मक काम गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय