विजयकुमार बाैडेल
पाल्पा । निर्माण सम्पन्न नहुंदै हतारमा उद्घाटन गरिएको दुईपाङग्रे ट्रायल सेन्टरको काम अनुमानित ९० प्रतिशत मात्र भएको पाइएको छ । पाल्पाबाटै सवारी चालक इजाजत पत्र उपलब्ध गराउने सेवाका लागि तानसेन ७ प्रभासमा गएको कार्तिक मसान्त भित्र कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई ट्रायल सेन्टरको कामको जिम्मा दिइएको थियो । उक्त सेन्टरको काम अहिले अनुमानित ९० प्रतिशत मात्र भएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जनाएको छ । तर सेन्टरको तत्कालिन प्रदेश मन्त्रीलाई रिझाउन मन्त्रालयका सचिव दीपक नेपालको ठाडो आदेशमा निर्माण कार्य पूरा नभएको सेन्टरको उद्घाटन गरिएको बुझिएको छ ।
ठेकेदारले काम नसकेको समयमा ठेकेदारलाई ताकेता गरेर निर्माण सम्पन्न गराउनुतर्फ नलागेर तत्कालिक लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाको काम देखाउन मन्त्रालयका सचिव नेपालले निर्माण सम्पन्न नभएको सेन्टरको उद्घाटनको व्यवस्थापन गर्न यातायात व्यवस्था सेवा कार्यालय पाल्पालाई पौष २२ गते पत्र पठाएर पौष २५ गते उद्घाटनको कार्यक्रम व्यवस्थापन गर्न लगाएका हुन् । प्रदेश मन्त्रालयको पत्र अनुसार काम नसकिएको सेन्टरको उद्घाटनको कार्यक्रम व्यवस्थापनमा लागि बाध्य भएर काम गरेको कार्यलय प्रमुख केशव सुनारले बताए ।
गएको २०७८ सालको चैत्रमा चालक अनुमति पत्र ट्रायल सेण्टरको शिलान्यास मन्ंत्री ढेंगालेनै गरेकी हुन् । उनको मन्त्री पत्र जाने भएपछि कामको जस लिन र मन्त्रालयका सचिवले काम देखाउनका लागि यो काम भएको हुनसक्ने पाल्पावासीहरुको अनुमान छ । सेन्टरबाट सेवा उपलब्ध हुने सूचना पाएका पाल्पाललीहरु अहिले सवारी चालक इजाजत पत्रको सेवा कहिले पाइन्छ भनेर सोधखोज गर्ने गरेका छन् । सेन्टरको निर्माण कार्य पूरा नहुँदै भएको यस्तो गतिविधिले राम्रो सन्देश नदिएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए । उनले उद्घाटनमा आफूलाई निम्ता भएको बताउदै निर्माण कार्य पूरा नभएको सेन्टरको उद्घाटनमा सहभागी हुननसक्ने भनि उपस्थित नभएको प्रमुख खनालको भनाइ छ । अहिले सेवा बारे जनगुनासो आफुलाई पनि आउने गरेको उनले बताए ।
निर्माण सम्पन्न नभएको सेन्टर उद्घाटनका लागि ठूलै जमातको निर्माणाधीन सेन्टरमा सहभागिता रहेको थियो । तर सेवा तत्काल सुरु नहुने मेसो पाएपनि राजनीतिक वा चाकरीका कारण कोही कसैले सही सूचना बाहिर नल्याएर पाल्पाली जनतालाई छक्याएका छन् ।
अहिले निर्माण पूरा नभएको सेन्टर उद्घाटन गरेर सेवा दिन्छौ भनेर भएको गलत प्रचारले यातायात व्यवस्था सेवा कार्यालय पाल्पालाई समस्या परेको कार्यालय प्रमुख सुनारको भनाइ छ । उनले प्रदेश मन्त्रालयलाई सेन्टरको काम नसकिदै हतारमा उद्घाटन नगरौं भनेर भन्दा काम अगाडि बढाउन भनेपछि आफूले मन्त्रालयबाट आधिकार्रीक पत्र मागेर काम गरेको बताए । कार्यालय प्रमुख सुनारले सेन्टर निर्माणको काम नसकिएको बताए ।
गएको कार्तिक मसान्तमै सक्नुपर्ने काम सम्पन्न नभएको हो । अहिले समयसीमा भित्र निर्माण सम्पन्न नगरेकोमा पूर्वनिर्धारित क्षतिपूर्ति लिनेगरी काम भएको प्रमुख सुनारले जानकारी दिए । यसका साथै अहिले आन्तरिक व्यवस्थापनमा लागेको जानकारी दिए । उनले अनलाइन पहुँच जडान र जनशक्ति व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । निर्माण व्यवसायीले समयमा काम गरिदिए चैत्र मसान्त भित्र लाइसेन्सको सेवा सुरु गर्न सकिने कार्याययको अनुमान छ । ट्रायल सेन्टर निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सहज हुने छ । यसका साथै पाल्पाबाट सेवा पाए चालक अनुमति पत्र लिन बुटवल,काठमाडौं, नेपालगंन्ज धाउनु पर्ने बाध्यथाको अन्त्य हुने छ । सेन्टर निमार्णका लागि अबी कन्स्ट्रक्सन रामपुरसंग ३४ लाख ७७ हजार ५ सय ६६ रुपैयाँ २३ पैशामा सम्झौता भएको हो ।