भकभके बोली सुधार प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल्पा । भकभके बोली भएका मानिसहरुलाई हेला होइन सम्मान र माया गर्नुपर्ने तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल भकभके संघ काठमाण्डौं र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित भकभके बोली सम्बन्धी सचेतनामूलक कार्यक्रमका सहभागीले यस्तो कुरा बताएका हुन् ।
नेपालमा भकभके बोली भएका व्यक्तिहरुलाई खिस्सी गर्ने, हेला गर्ने, इष्र्या गर्ने गरेको भएता पनि यसलाई माया र आदर गरेर उनीहरुको बोलीमा सुधार गर्न सकिने उनीहरुको भनाइ छ ।

कार्यक्रममा तानसेन नगरपालिकाका कार्यबहाक नगर प्रमुख यादव सिंह कार्कीले भकभके मानिसहरु पनि अन्य अपाङ्ग र अन्य नागरिक सरह समाजमा जीवन यापन गर्न पाउनुपर्ने बताए । उनले भकभके मानिसहरुको उत्थानको लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गर्ने बताए । यस्तै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले विद्यालयतह र समुदायमा रहेका भकभकेहरुको वृत्ति विकासमा सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा भकभके संघका केन्द्रीय अध्यक्ष रविन मैनालीले राज्यले अपाङ्गहरुलाई हेर्ने दृष्टिकोण नै संकिर्ण रहेको बताए । उनले भकभकेपना पनि एकखालको अपाङ्ग नै भएकाले राज्यबाट सोको प्रमाणपत्र समेत पाइने र सोही अनुसारको सेवा सुविधा पाउने भएकाले संघमा आवद्ध हुन पाल्पामा रहेका भकभकेहरुलाई आग्रह गरे । संस्थाका महासचिव शंकर प्रसाद गौतमले संस्थाले २००३ सालदेखि भकभके बोली भएका व्यक्तिहरुको हकहितको क्षेत्रमा पैरवी गर्दै आइरहेको जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण बहादुर थापाले विद्यालय तहमा रहेका भकभके विद्यार्थीहरुको सही रुपमा पहिचान र उनीहरुको सिकाई सहजीकरणको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरतप्रसाद शर्मा, पाल्पा शिविआर कार्यक्रमका संयोजक कृष्ण गहतराज, समाजसेवी खगराज अधिकारी, शिक्षक शंकर भट्टराई लगायतले भकभकेपना भएको व्यक्तिहरुको पहिचान र सहयोग कार्यक्रमले ठूलो राहत हुने बताए ।

कार्यक्रममा तानसेनका सामुदायिक विद्यालयका प्रअ, शिक्षक, कर्मचारी र जनप्रतिनिधि वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । दुईदिनसम्म चलेको कार्यक्रममा शुक्रवार सरोकारवालासँग अन्तरक्रिया तथा शनिवार भकभके बोली भएका बालबालिका तथा व्यक्तिहरुलाई बोली सुधार सम्बन्धी प्रशिक्षण, तालिम तथा शिविर चलेको नेपाल भकभके संघ पाल्पाका अध्यक्ष प्रवेश पन्थीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय