माथागढी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

विजयकुमार बौडेल –

पाल्पा । माथागढी गाउँपालिकाले गएको आर्थिक वर्ष र चालु आर्थिक वर्ष २०७९/८०मा सम्पादन गरेको कार्यको प्रभावकारीताका विषयमा अर्धवार्षिक सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाको आयोजना र नेतृत्व मिडिया प्रा.लि.को सहजीकरणमा सार्वजनिक सुनुवाइ भएको हो ।

सार्वजनिक सुनुवाइमा गाउँपालिका भित्र रहेका विभिन्न वडाका नागरिक, सार्वजनिक संघ संस्थाका प्रतिनिधि,पत्रकारलगायतले सहभागिता रहेको थियो । सहभागीहरुले गाउँपालिकाको सेवा प्रवाहका विषयमा सुझाव, प्रश्न र जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले घुम्ती सार्वजनीक सुनुवाइ हुनुपर्ने, नागरिक सहभागिता बढाउनुपर्ने र सार्वजनिक सुनुवाइ वडा तहमा गरेपछी मात्र गाउँपालिकामा गर्नुपर्ने सुझाव व्यक्त गरे ।

सार्वजनिक सुनुवाइमा बुद्धिजीवी परिषद्का नारायण प्रसाद अधिकारीले घर नक्साको अभिलेखीकरण गर्ने कार्यक्रम र जग्गाको वर्गीकरण तथा कित्ताकाँट गर्ने काम तथा स्थानीय पाठ्यक्रमको पुस्तक विद्यार्थीले नपाएको बारे गुनासो गरे । त्यस्तै माथागढी २ का दामोदर घर्तीले कोल्डस्टोर कहिले सम्म सञ्चालन हुन्छ ? अहिले उत्पादन भएको आलु राख्न पाईन्छ की पाईदैन ? बजारीकरणका लागि योजना के छ ? भन्ने बारे प्रश्न राखेका थिए ।

त्यस्तै माथागढी १ का कृष्ण प्रसाद बस्यालले कृषि काममा बाँदर र दुम्सीले निकै सताएको भन्दै यसलाई गाउँपालिकाले कसरी समाधान गर्ने योजना बनाएको छ भन्ने प्रश्न राखे । दिव्यज्योती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक लोकेन्द्र थापाले देउगीर देखि माथागढी सम्म आउने बाटो स्तरोन्नति गर्नुपर्ने, अभिभावक विहिन बालबालिकाको जिम्मेवारी गाउँपालिकाले लिने कुराको कार्यान्वयन गर्नुपर्ने, गाउँपालिका भित्रका खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, सुर्तीजन्य पदार्थलाई प्रतिवन्ध गर्नुपर्ने, विद्यार्थी खाजाको रकममा गाउँपालिकाले थप गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । त्यस्तै वडा नं. १ का प्रेम बहादुर गाहा थापाले सडक देखी घरको दुरी कति राख्ने भन्ने बारेमा गाउँपालिकाले नीति बनाउनुपर्ने सुझाव व्यक्त गरे ।

सार्वजनीक सुनुवाइमा किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्याल, पत्रकर माधवप्रसाद अर्याल, नेकपा एमालेका सन्तोष भट्टराई, नेपाली कांग्रेसका मधु पराजुलीलगायतले शिक्षा अधिकृतको रुपमा विद्यालय निरीक्षकको अभाव, सार्वजनिक सुनुवाइ कर्मकाण्डी भएको, सर्वसाधारणको उपस्थिति कमजोर भएको, गाउँपालिका भित्रका खास समस्या उठ्न नसकेको, गाउँपालिकामा सञ्चालित योजना फर्छ्यौट गर्न गाह्रो अवस्था रहेको, मुल्यांकनको समस्या भएको, नागरिक उपभोक्ता समितिमा बस्नै नमान्ने अवस्था भएको बारे प्रश्न राखेका थिए ।

कार्यक्रममा गाउँपालिको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाइ गरेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताए । उनले गाउँपालिकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष चिदीले गलत गर्न कोही कसैलाई छुट नभएको बताउदै गाउँपालिका राम्रो बनाउन सधै सकारात्मक सुझावको अपेक्षा राखेको समेत बताए ।

यसका साथै सुनुवाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली,विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले सहभागीले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए । उनीहरुले सेवा प्रभावकारी बनाउन र कमिकमजोरी हटाउन सार्वजनिक सुनुवाइ भएको बताए ।

सार्वजनिक सुनुवाइको सहजीकरण नेतृत्व मिडिया प्रा.लि.का निर्देशक गोविन्द भट्टराई, पत्रकार विजयकुमार बौडेल र नेत्रप्रसाद गैरेले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय