
पाल्पा । रामपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको आयोजनामा भएको रोजगार कार्यक्रम अन्तरगत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको सही सदुपयोग हुन नसकेको बताउँदै परिमार्जन गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम आयआर्जनमूलक र सीपमूलक हुनु पर्ने नगर प्रमुख थापाको भनाइ छ ।
संघीय सरकारबाट आएको बजेट मार्फत संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारसंग समन्वय र लागत सहभागिताका आधारमा सञ्चालन गर्ने गरी दीर्घकालीन योजना बनाएर अगाडी बढ्नुपर्नेमा नगर प्रमुख थापाले जोड दिए ।
रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापाले वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्दा यसको प्रभावकारीताका लागि वडाध्यक्ष र वडा सचिवको मुख्य भूमिका रहने बताइन् । उनले कार्यक्रम सञ्चालन गर्दा सही योजना र जनशक्ति छनौट गरेर काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन , रोजगार सम्बन्धी संवैधानिक व्यवस्था , रोजगारीको अवस्था, आयोजना छनौटलगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा रामपुर नगरपालिका भित्रका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो ।