
पाल्पा/ रिब्दीकोट गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि वडास्तरमा घुम्ती शिविर सञ्चालन गरिरहेको छ । भौगोलिक विकटताका कारण वडा र गाउँपालिकामा आएर सेवा लिन असहज हुने अवस्थालाई मध्यनजर गरी सेवा वडास्तरमा लगिएको गाउँपालिकाले जनाएको छ ।
केही समय पहिले वडा नं. १ ख्याहामा सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अहिले रिब्दीकोट गाउँपालिका वडा न. ६ ठिमुरेको पोरक्नीमा पनि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । शिविरमा गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा सुबिधाहरु गाउँस्तरमा सरल र सहज रुपमा दिने उद्देश्यले शिविरको आयोजना गरीएको हो ।
ठिमुरेमा सञ्चालन भएको शिविरमा ३ वटा घटना दर्ता, बेरोजगार सुचिकृत ६८ जना, योजना सम्झौता ६ वटा, नागरिकता सिफारिस ३ वटा, अन्य सिफारिस १८ वटा, ३५ वटा गाई र भैसिको गोबरको नमुना परीक्षण, ४ सय ६५ पशुपन्छीलाई औषधि वितरण, राजश्व तर्फ १३ जना, माटो परीक्षणका लागि १० वटा नमुना संकलन , कृषि सेवा ४० जना, १३ वटा कृषि कार्यक्रमको आवेदन दर्ता, माटो परीक्षण प्रतिवेदन वितरण, एक घर एक करेसाबारी अनुगमन र अकबरे खुर्सानी अनुगमन तथा परामर्श सेवा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिए । स्थानीय नागरिकलाई वडा टोलबाटै सेवा प्रदान गर्न लक्ष्य अनुसार सेवा दिइएको वडाध्यक्ष प्रकास रायमाझीले बताए । सरकारी कार्यालयबाट जनतालाई दिने सबै सेवा एकै पटक एउटै थलोबाट प्रवाह गर्ने गरी भएको घुम्ती शिविर बिभिन्न शाखाका प्रमुखहरु समेत पुगेर आबस्यक सेवा प्रदान गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जीव कुवँरले जानकारी दिए ।
स्थानीय सरकारले प्रदान गर्ने सबैखाले सेवा जनताले आफ्नो घरआँगनमा पाउँदा खुसी देखिएको कार्यपालिका सदस्य सुनिल बस्यालले बताए । उनले भोलिका दिनमा पनि गाउँपालिकाले जनतालाई सुविधा पुग्नेगरी सेवा प्रवाहमा जोड दिने बताए । वडास्तरमा भएको शिविरमा सेवा लिन आएका नागरिकहरुले नजिकबाट सेवा लिन पाउँदा समय र पैशको बचत भएको बताए । उनीहरुले सेवा लिनका लागि झञ्झट पनि नभएकोमा खुसी व्यक्त गरेका छन् ।