महिलालाई उद्यमी बनाउँदै माथागढी

पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । उनले गाउँपालिकाको आर्थिक समृद्धिका लागि महिलाहरु आर्थिक आर्यआजनमा जोडिनुपर्ने बताए । वडाध्यक्ष पन्थीले महिलाहरुलाईउद्यमी बनाउन प्रदेश सरकार, गाउँपालिका, जिल्लामा रहेका विभिन्न सरकारी तथा सामाजिक संघसंस्था सँगको समन्वयमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले महिला आर्थिक रुपमा बलियो हुँदा घरपरिवारको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।

माथागढी १ चिदीपानी महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको सात दिने अचार बनाउने तालिमको समापनका अवसरमा वडाध्यक्ष पन्थीले यो कुरा बताएका हुन् । पारिवारिक अवस्था सुधार गर्नसके मात्र सामाजिक विकास सँगै गाउँपालिकालाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनको भनाइ छ । आर्थिक रुपमा सवल गाउँपालिका हुँदा रोजगारीको सिर्जना स्थानीय तहमा नै निर्माण हुने भएकोले महिलाहरुलाई उद्यमी बनाउनु पर्ने उनको भनाइ रहेको छ । सोही अनुसार वडाका गतिविधि केन्द्रीत गरिएको उनले बताए ।

माथागढी गाउँपालिका सामाजिक विकास समितिका संयोजक समेत रहेका पन्थीले चालु आर्थिक वर्षमा पाँचवटा महिला लक्षित सीपमूलक तालिम सञ्चालन गरिएको जानकारी दिए । विपन्न वर्गका महिला, औषत आम्दानी कम भएका महिला र दलित समुदायका महिलाहरुको विशेष सहभागितामा तालिम सञ्चालन गरिएको छ । अहिलेसम्म गाउँपालिका र विभिन्न निकायको समन्वय र सहकार्यमा कक्सुज (जुत्ता चप्पल) बनाउने तालिम ७ जना, व्यूटीसीयन आधारभूत तहको तालिम ९ जना र एडभान्स तहको तालिम ५ जना, सिलाई कटाई आधारभूत तहको तालिम २२ जना र एडभान्स तहको तालिममा ५ जना, तरकारी खेती तालिम ६ जनाले लिएका छन् । पछिल्लो पटक अचार बनाउने तालिम भने महिला लक्षित कार्यक्रममा विनियोजित रु. दुई लाख मध्यबाट सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ। उक्त कार्यक्रममा ४० जना महिलाको सहभागिता रहेको थियो । तालिम लिएका महिलाहरुलाई उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार तयार र बजारीकरणमा गाउँपालिका र वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष पन्थीले बताए ।

सीप विकास तालिमको व्यवहारीक पक्षले मात्र महिलाहरुलाई उद्यमी बनाई आत्मनिर्भरताको बोटोमा लैजाने कार्यपालिका सदस्य तुल्सा न्यौपानेले बताइन् । उनले महिलाहरु चुलोचौकोमा मात्र सीमित नरहेर आफ्नो चौतर्फी विकास गर्नका लागि सक्रिय बन्नुपर्ने बताइन् । जसका लागि गाउँपालिकाले आवश्यकता र मागका आधारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेका वडा कमिटी सचिव तपेस्वर वीर सारुले महिलाहरु सामाजिक आर्थिक रुपमा सवल हुँदा विभिन्न खाले समस्याहरु न्यूनीकरण हुने बताए । जसका लागि पहिलो आर्थिक रुपमा बलियो बन्न प्राप्त सीपलाई आम्दानीमा रुपान्तरण गर्नु रहेको बताए ।

भञ्ज्याङ पोखरा सहकारी सस्थाका व्यवस्थापक देउ बहादुर कुंवरले सीपको प्रयोग गरेर आम्दानी गर्दा पारिवारीक जीवनस्तरमा परिर्वतन आउने बताए । उनले जीवनस्तर सुधारका साथै पारिवारीक कलह र विभिन्न खाले हिंसाको अन्त्य हुने समेत बताए ।

कार्यक्रममा समितिका अध्यक्ष सिता गिरीले र प्रशिक्षक बन्दना रानाले तालिमले महिलाहरुलाई उत्साहित बनाएको बताए । उनीहरुले अब उद्योग स्थापना र उत्पादन भएको वस्तु विक्रीका लागि बजार ब्यवस्थापनमा वडा र गाउँपालिकाले सहजीकरण गरिदिनुपर्ने बताए । अहिले माथागढी १ चिदीपानीको कूल जनसंख्याको ५१ दशमलव ९७ प्रतिशत महिला रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय