
नेत्रप्रसाद गैरे
नेकपा (एमाले)को पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरूट) शनिबारदेखि बगनासकाली गाउँपालिकामा सुरू भएको छ । पहिलो दिन आज गाउँ कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले अभियानको बारेमा सहजीकरण गरेका थिए । एमाले शक्तिलाई जोगाउन, आगामी निर्वाचनमा बहुमत ल्याउने गरी जन आधार तयार गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए । पार्टी गतिविधिलाई चलायमान राख्ने, पार्टीका रफ्तारलाई खिया लाग्न नदिन र स्पातिलो बनाउन अभियान थालिएको नता पन्थीले बताए ।
केन्द्रीय प्रतिनिधि गणेश खनालले एउटा पार्टीको बहुमत आउने वातावरण सिर्जना नहुँदासम्म राजनीतिक स्थिरता नहुने बताए । यो अभियानले आगामी निर्वाचनमा एमाले बहुमतसहितको पहिलो पार्टी बन्ने दावी गरे । अभियानले केन्द्र, प्रदेश जिल्ला र स्थानीय नेता तथा कार्यकर्ताबीच अन्तरघुलन हुने विश्वास लिए । नेता खनालले एमालेको नेतृत्वमा सरकार नबन्दासम्म मुलुकको सम्वृद्धि नहुने नेता खनालको भनाइ रहेको थियो ।
प्रदेश कमिटी सदस्य नारायणी घिमिरेले एमाले अहिले आधारभूत तहमै पुगेर जनताको गुनासो सुन्ने, सुझाव लिने गरी दुई महिने अभियान थालेको बताइन् । गाउँ कमिटी अध्यक्ष हरि पाठकको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला कमिटी सदस्य सरस्वती चिदीले स्वागत र सचिव ओमप्रकाश गैरेको सञ्चालनमा भएको हो । यसैबीच बैठले बगनासकाली गाउँपालिकाका सबै वडामा अभियान संचालन गर्न मिति तय समेत गरेको छ ।
अभियान वडा नम्बर १ मा १९ गते, २ मा १७ गते, ३ मा १६ गते, ४ मा १८ गते, ५ मा १८ गते, ६, ७, ८, ९ वडामा २० गते पहिलो चरणको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना तयार भएको एमाले पाल्पाका उपसचिव टीका बहादुर थापाले जानकारी दिए ।