फोहर टिप्न तानसेनमा प्लोग्गिङ्ग म्याराथन

विजयकुमार बौडेल –

पाल्पा। प्लास्टिक प्रयोगमा न्यूनीकरण र वातावरणीय प्रदूषण कम गर्न तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ । म्याराथनमा सहभागीले तानसेन बजार क्षेत्रको ४ किलोमिटर दूरी दौडिनुका साथै प्लास्टिक, मास्क र अन्य फोहोर संकलन गरेका थिए । रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लब अफ पाल्पा लुम्बिनीको समन्वयमा दोस्रो पटक फरक ढंगको म्याराथन आयोजना गरेको हो ।

जिल्लाका १२ विद्यालयका २७ जना विद्यार्थी म्याराथन कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले तोकिएको सडकमा दौडिनुका साथै सडक किनारमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरेको आयोजक क्लबका अध्यक्ष राजेश कोईरालाले बताए । उनका अनुसार प्रतियोगितामा सहभागीहरुले करिव ७५ किलो फोहोर संकलन गरेको जानकारी दिए । जसमा प्लास्टिक मात्रै ६३ किलो रहेको अधयक्ष कोईरालाले बताए ।

प्रतियोगितामा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तानसेन बजारलाई सुन्दर र सफा बनाउन प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताए । उनले रोट्रायाक्ट र रोटरी क्लबले उदाहरणीय कार्य गरेको बताउदै यसबाट अन्य सामाजिक संस्था र नगरवासीले सिक्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी पन्तले सचेतनाका लागि गरिएको यस कार्यले समाजमा सकारात्मक सन्देश दिने बताए । वातावरणीय प्रदुषण रोक्न र यसको असर बारे जनचेतना फैलाउन यस म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

म्याराथनल दौड पूरा गर्न लागेको समय र त्यस समयमा जम्मा भएको फोहोरको भारलाई आधारमा उत्कृष्ट छनोट गरिएको थियो । म्याराथनमा तानसेनको सेन्ट क्यापितानियो स्कुलका प्रतिक अर्याल प्रथम भए । उनले ३२ मिनेट ५४ सेकेण्डमा ४ के.जी ९५ ग्राम फोहर संकलन गरेर प्रथम भएका हुन् । त्यस्तै विज्डम बोर्डिङ स्कुलका दिवस क्षेत्री दोश्रो भएका छन् । उनले ४० मिनेट ४३ सेकेण्डमा ६ किलो फोहर संकलन गरेर दोस्रो भएका हुन् । पाल्पा प्यारागनका आशिष राना तेश्रो भएका छन् । उनले २६ मिनेट ८ सेकेण्डमा २.८५ किलो फोहर संकलन गरेका थिए । यसका साथै १० केजी ५६ ग्राम फोहर संकलन गरेर विज्डम बोर्डिङ स्कुल विद्यालयतर्फ प्रथम भएको छ ।

सम्बन्धित खवर