रामपुरमा निशुल्क स्वास्थ्य शिविर

सुशीला रेग्मी

रामपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । रोटरी क्लब रामपुर, ज्योतीपुन्ज युवा क्लब रामपुर, रोट्रायाक्ट क्लब अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगलाई प्राथमिकता दिएर शिविर संचालन गरिएको हो । शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पस रामपुरको प्राबिधिक सहयोग र रामपुर नगरपालिकाको समन्वयमा संचालन भएको रोटरी क्लब रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ जानकारी दिए ।

शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा भएको शिविरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले समयमा स्वास्थ्य परीक्षण गर्ने बानी नहुँदा अकालमै ज्यान गुमाउनु परिरहेको बताउदै मानिसको मुटु, मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले साधारण परीक्षण मात्रै नगरिकन रोग निदान हुने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज अलामले ठाउँ ठाउँमा गएर उपचार गर्ने मात्रै होईन रोगको निदान गर्ने चाहना हो, स्वास्थ्य जस्तो संवेदनशील कुरामा वेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेको बताए । कार्यक्रममा ज्योतीपुन्ज युवा क्लवका अध्यक्ष सुदीप गौतमले शहर देखि टाढा रहेको रामपुर क्षेत्रका नागरिकलाई गाउँमै सहज सेवा दिन मुटु, मृगौलाको परीक्षण गर्ने उद्धेश्यले शिविर आयोजना गरिएको बताए । उनले रामपुरमा डाइलायसिस सेवाको आवश्यक रहेको जानकारी गराए ।

शिविरमा स्वास्थ्य परीक्षण गराउनेको उत्साहजनक उपस्थिति रहेको थियो । स्वास्थ्य परीक्षण, औषधि निशुल्क रहेकाले बिरामीलाई ठूलो राहत मिलेको छ । रगत परीक्षण, ईसिजि, ईको, मुटु, मृगौलाको परीक्षण तथा उपचार सेवा एकै स्थानमा पाएपछि अन्यत्र सेवा लिन जाने झण्झटबाट मुक्त भएको सेवाग्राही अनिल भट्टराईले बताए । गाउँघरमा समय समयमा चल्ने स्वास्थ्य शिविरबाट आर्थिक समस्यमा कारण सवास्थ्य परीक्षण गराउन नसक्ने नागरिकलाई सहज हुने आयोजकको विश्वास छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय