एमाले तानसेन नगरकमिटीको (मिसन ग्रासरूट) अभियान सुरु

पाल्पा । नेकपा (एमाले) तानसेन नगरकमिटीले दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरूट)को नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रमले नगरपालिका भित्रका १४ वटामा खटने प्रदेश र जिल्ला कमिटीका नेताहरुको टुंगो लगाई जिम्मेवारी समेत दिइएको छ ।

तानसेन नगरपालिकामा अभियान एमाले पोलिटब्यूरो सदस्य खिमलाल भटराईको नेतृत्वमा चल्ने छ । जसमा पार्टी प्रदेश सदस्यहरु नारायणबहादुर जिसी, देवीप्रसाद बस्याल,रामबहादुर राउत, कृष्ण थापा र गणेश बस्यालले विभिन्न वडाको जिम्मेवारी पाएका छन् । साथै वडा नंं १४ मा जिल्ला सचिव भोजराज पोखरेल (रामजी)लाई जिम्मेवारी दिइएको छ । वडा र टोल तहका नेताहरुले वडामा खटिएका केन्द्र र प्रदेशका नेताहरु संगको समन्वयमा पार्टी सदस्यहरुको घरघरमा पुग्ने योजना निर्माण गरी अभियानका गतिविधि हुने नेकपा एमाले तानसेन नगरकमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य भटराईले अभियान मार्फत सांगठनिक अराजकताको अन्त्य गरिने बताए । उनले पार्टीमा जोडिएका सबै नेता कार्यकर्तालाई सैद्धान्तिक र बैचारिक रुपमा स्पष्ट बनाउँर्दै अन्तरबिरोधको अन्त्य गर्नुपर्ने समेत बताए । नेता भटराईले आसन्न चैत्रमा हुने स्ववियू निर्वाचनमा पाल्पामा निर्वाचन हुने सबै क्याम्पसहरुमा अनेरास्ववियुको जित सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । नेता भटराईले नेताहरुको पनि कार्य सम्पादन मुल्याँकन हुनुपर्ने बताउँदै आगामी दिनमा नेताको पनि कामका आधारमा उचित मुल्याँकन हुने बताए ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले अभियानले पार्टीका सदस्यहरुलाई उर्जा थप्ने बताए । उनले सदस्यता लिएका तर नविकरण नगरी बसेका सदस्यहरुका नविकरण गराउने, गठन भएका तर क्रियाशील नभएका जनवर्गीय संगठनलाई क्रियाशील बनाउने काम हुने बताए । नेता कंडेलले अवसर आफुले प्राप्त गर्दा ठिक अरुले प्राप्त गर्दा बेठिक लाग्ने सोचको परिर्वतनमा अभियान सफल हुने विश्वास व्यक्त गरे ।

एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अभियानलाई रचनात्मक र सिर्जनशील रुपमा अगाडि बढाउनुपर्ने बताए । उने सिर्जनशील ढंगले नतिजा निकाल्नेगरी अभियानलाई जिम्मवारी र अवसरका रुपमा लिएर क्रियाशील हुन आग्रह गरे ।

पाल्पामा एमालेको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि तानसेन नगरपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भटराई, अर्का पोलिटब्यूरो सदस्य गोकुल घर्तीमगरले निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र माथागढी गाउँपालिका, केन्द्रीय अनुशासन आयोजका उपाध्यक्ष नेत्र पन्थी र केन्द्रीय प्रतिनिधि गणेश खनालले बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा, र तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा केन्द्रीय सदस्य सावित्रीदेवी अर्यालको अगुवाईमा अभियानका गतिविधि चलिरहेको छ ।

अभियान अर्न्तगत नगरभित्र करिव १५ सय नयाँ सदस्य थप गर्ने लक्ष्य राखिएको छ । पार्टीमा भएका सदस्यहरुलाई बैचारिक, सैद्धांतिक रुपमा स्पष्ट पार्ने, भएका सदस्यहरुलाई कुनैन कुनै पार्टी कमिटीमा संगठित गर्ने, २०८० साल सम्मको पार्टी सदस्यता नविकरण गर्ने, नयाँ पार्टी सदस्यता विस्तार गर्ने उनीहरुलाई यथोचित जिम्मेवारी दिने, जनवर्गीय संगठनहरुलाई आवश्यकता अनुसार वडा तह सम्म विस्तार गर्ने कार्य हुने छ । यसका साथै पार्टी प्रवेश, पार्टीलाई योगदान गर्ने व्यक्तित्वलाई सम्मान पनि गरिने अध्यक्ष आत्रेयले जानकारी दिए ।

सम्बन्धित खवर