पाल्पा। रम्भा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म सम्पादन भएका काम र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
गाउँपालिकाले प्रदान गर्दै आएका सेवा सुविधा र योजनाका बारेमा आम नागरिकलाई जानकारी गराउन र प्राप्त सल्लाह सुझावबाट गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनले कार्यक्रममा सेवाग्राहीहरुले दिनुभएका सुझाव र उठाएका जिज्ञासाहरुलाई गाउँपालिकाले क्रमश सम्बोधन गर्दै जाने समेत बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग रानाले रम्भा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पादन गरेको कार्य प्रगति विवरण र लेखा अधिकृत पोष्टराज न्यौपानेले करिव २ करोड ५० लाख रुपैयाँ खर्च भएको आर्थिक प्रगति विवरण पेश गरे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरु तुल्सीराम राना, धातानन्द बस्याल, भिमबहादुर सारु, नारायण भट्टराई, हरि बस्याल धनबहादुर नेपाली, धनबहादुर पौडेल, धनबहादुर नेपाली, रेवत राना, ज्ञानबहादुर बराल, तिलबहादुर आले लगायतले गाउँपालिकाको भवन निर्माण, वडा कार्यालयमा स्थायी कर्मचारीको अभाव, कृषि क्षेत्रको कार्य प्रभाव बनाउनुपर्ने, सडकहरुको स्तररोन्नति, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि तालिम, उत्पादित सामग्रीको बजारिकरणको ग्यारेण्टीका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।
सेवाग्राहीहरुले उठाएको जिज्ञाशाहरु बारे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ राना, वडा १ का अध्यक्ष इश्वरी काफ्ले, वडा न ३ का अध्यक्ष थमन बहादुर गाहा, लेखाअधिकृत पोष्टराज न्यौपाने, शिक्षा अधिकृत मिनादेवी आचार्य, स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्याल, प्राविधिक मुक्तबहादुर फाल, रोजगार संयोजक रबिन महर्जन, कृषि प्राविधिक पुजा गुरुङलगायतले बोलेका थिए । उनीहरुले समग्र गाउंपालिकावासीको सेवामा खटिएको बताउँदै काम गर्दा केही कमजोरी भए आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जनाए ।
सार्वजनिक सुनुवाइ कार्यक्रम सहयात्रा विकास केन्द्र नेपालका नारायण न्यौपाने र यज्ञमूर्ति तिमिल्सिनाको सहजीकरणमा भएको हो ।