माथागढी ३ सराईमा सास्कृतिक महोत्सव हुने

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ कसेनी सराईमा सास्कृतिक महोत्सव हुने भएको छ । फागुन १५ गते मगर एकता दिवसका अवसरमा सांस्कृतिक महोत्सव हुने भएको हो । ४१ औं मगर एकता दिवसमा स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने  गरी  महोत्सव गर्न लागिएकाे नेपाल मगर संघ माथागढीले जनाएको छ ।

नेपाल मगर संघ माथागढीका अध्यक्ष शंकर दर्लामीले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, स्थानीय व्यवसायहीलाई प्रोत्साहन गर्दै मगरी संस्कृति र परम्पराको प्रवद्र्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

माथागढी वडा नं. ३ का वडा अध्यक्ष तथा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेज घर्तीमगरले मगर समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनले १५ गते हुने कार्यक्रमले घोषणापत्र तयार गरेर मगर समुदायको उत्थानको लागि कार्यक्रम तथा ठोस योजना अघि सार्ने योजना रहेको समेत बताए ।

दिवसका अवसरमा इतिहास भाषा, धर्म र संस्कृतिको लागि संघले विगतका वर्षहरु देखि नै यस्तो कार्यक्रम गर्दै आइरहेको कार्यक्रम संयोजक मानबहादुर रानाले बताए । उनले दिवसमा माथागढीका सबै वडा सहित जिल्लाभरिबाट मगर समुदाय र अन्य समुदायको सराईमा सहभागिता रहने जनाए ।

महोत्सवमा मगर सस्कृतिसँग सम्बन्धित मारुनी, घाटु नाँच , स्थानीय परिकार र विभिन्न स्टलहरु राखिने छ । पाल्पामा अहिलेसम्म तानसेन नगरापलिका,रामपुर नगरपालिका र माथागढी गाउँपालिकाले मगर एकता दिवसका अवसरमा स्थानीय विदा दिने निर्णय गरिसकेका छन् ।

सम्बन्धित खवर