
पाल्पा । पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कुलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कुलले १० दिनसम्म विविध कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले निजी विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले २३ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल हुनु आफैमा महत्वपूर्ण रहेको बताए । प्रदेशसभा सदस्य सारुले शैक्षिक गुणस्तर वृद्धि गर्ने र शिक्षालाई थप प्राविधिकमैत्री बनाउने दिशामा ध्यान दिन विद्यालयलाई आग्रह गरे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाका अध्यक्ष महेशमान बज्रचार्यले सरकारले निजी क्षेत्रका विद्यालयहरुलाई हेर्ने दृष्टिकोण सामुदायिक विद्यालयलाई भन्दा फरक रहेको बताए । उनले शैक्षिक क्षेत्रको विकासमा संस्थागत विद्यालयको योगदानको कदर हुन नसकेको बताए ।
प्याब्सन पाल्पाका निवर्तमान अध्यक्ष भरत न्यौपानेले संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तर दिन सफल भए पनि सरकारको दृष्टिकोण फरक भएको बताए । उनले सरकारी र निजी विद्यालयलाई सरकारले गर्ने व्यवहार फरक नभै एउटै बनाउनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले आगामी दिनमा समय अनुसारको शिक्षा प्रदानगरी अब्बल जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाका रुपमा विद्यालयलाई स्थापित गर्ने योजना रहेको जानकारी गराए । उनले सबैको सहयोग र साथको अपेक्षा समेत गरे ।
कार्यक्रममा तानसेन –३ का वडाध्यक्ष बाबुरत्न शाक्य, तानसेन –१ का वडाध्यक्ष सुनिल बस्याल, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, विद्यार्थी सियसी सारु, पूर्व विद्यार्थी प्रियङ्का कुंवरलगायतले पाल्पाको शैक्षिक क्षेत्रमा विद्यालयको भूमिकाका विषयमा खुलेर प्रशंसा गरे ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल गंगाबहादुर खत्रीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई आगामी दिनमा थप गुणस्तरीय, प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले विद्यालयलाई लुम्बिनी क्षेत्रकै नमूना विद्यालय बनाउने गरी आफुहरु अगाडि बढेको धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यालय तहमा उत्कृष्ट हुने, विभिन्न विद्याका कार्यक्रमहरुमा सफल हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य बामदेव बस्यालको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता , विद्यार्थीद्धय ढाका कुंवर र केकी बस्यालको सञ्चालनमा कार्यक्रम चलेको हो ।