सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

पाल्पा । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राती गरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड दैनिक आठ घण्टा बन्द हुनेभएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्य रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजे सम्म राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । उनका अनुसार यसैगरी रातीको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको बताए । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र राजमार्ग बन्दगरेर काम गर्न दिने निर्णय भएको हो । बैठकमा उक्त सडक सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा प्राप्त गरेको कम्पनीले तत्काल स्तरउन्नती गर्ने सहमति भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले पाल्पा सञ्चालनमा रहेका योजनाहरुको कामहरुको गुणस्तर कमजोर भएको बताए । निर्माण कम्पनीहरुको कामको अनुगमन गर्ने निकायले इमान्दारीताका साथ काम नगर्दा समस्या देखिएको उनको भनाइ थियो । प्रमुख खनालले समयमा काम नसक्ने पटक पटक जनतालाई सास्ती नदिने गरी तोकिएको समयमा काम सम्पन्न गर्न, गराउनका लागि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।

अहिलेसम्म सुरुङमाग निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । विभागले डिपिआर स्विकृत नगरिसकेकोले अहिले पूर्व तयारीको काम भैरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ । निर्माण हुने मुख्य सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहने सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

सम्बन्धित खवर