पढ्न दैनिक ६ घण्टा हिँडेर विद्यालय

 भुवन रायमाझी

पाल्पा। तिनाउ गाउँपालिका पाटनकी पुष्पा बगाले गाउँमै माध्यमिक शिक्षाका लागि विद्यालय नभए पछि करिब तीन घण्टा भन्दा बढी एकतर्फी हिँडेर रिब्दीकोट ६ ठिमुरेमा रहेको नारायण माविमा पढ्न जाने गरेको बताइन् । उनले दैनिक विद्यालय जान र आउनका लागि मात्र करिब ६ घण्टा पैदल हिँडेर समय खर्चिनु पर्छ । जसले गर्दा विद्यालय समय बाहेक अन्य समय पढाइका लागि समय नै नहुँने उनको गुनासो छ । बगाले घरबाट विद्यालयका लागि बिहान ६ बजे निस्कनै पर्छ, विद्यालय विदा भएर घर र्फकदाँ साँझ करिब ७ बज्ने गरेको छ । ट्युसन पढ्ने समयमा बिहान ५ बजे नै घरबाट निस्कनु पर्ने उनको भनाइ छ । जाडोयाममा विद्यालय पुग्न गाउँको बाटो, जंगली जनावरको भय र जोखिम मोलेर जानु पर्ने उनले बताइन् ।

यो एउटा उदाहरण मात्र हो यस भेगका अधिकांश विद्यार्थीहरुको दैनिकी विद्यालय जान र आउनमै सीमित रहेको छ । सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टा भन्दा बढी पैदल हिँड्न नर्पने गरी विद्यालय सञ्चालनको मापदण्ड तोकेको छ । रिब्दीकोट गाउँपालिका ६ ठिमुरेमा रहेको नारायण माध्यमिक विद्यालयमा भने विद्यार्थीहरु दैनिक ६ घण्टा पैदल हिँडेर पढ्न आउनुपर्ने बाध्यता अझै यथावत रहेको छ । विद्यार्थीहरुको पहुँच भन्दा टाढा रहेका विद्यालयमा पुग्न घण्टौ समय लाग्छ । जसका कारण विद्यार्थीहरु पैदल हिडँदा थाक्ने, घरमा अतिरिक्त समय अभ्यास गर्न नपाउने, खाना र खाजाको मेसो नमिल्ने गर्दा पढाईमै बाधा पुग्ने गरेको विद्यार्र्थीहरुको गुनासो छ । रिब्दीकोट गाउँपालिका धुस्टु·मा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत लुम्बास गाउँका अनिल गाहालाई पनि आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन घण्टौ हिँडेर जानुपर्ने बाध्यताले निकै समस्या पारेको बताए । विद्यार्थीले दैनिक रुपमा भोग्दै आएको समस्या बारे दुई स्थानीय तह नै मौन रहेको अभिभावकको भनाइ छ ।

विद्यालयमा चमेना गृह र छात्राबासको व्यवस्था नहुँदा विद्यार्थीहरुलाई घरबाट चाँडै हिँडनु पर्ने र खाना, खाजाको व्यवस्था पनि आफै गर्नुपर्ने भएकोले अध्ययनका साथै विद्यालयको अतिरिक्त क्रियाकलाप सञ्चालनमा पनि समस्या आइपरेको शिक्षक राजेन्द्र प्रसाद पोखरेल बताए । ९० प्रतिशत मगर समुदायको बाहुल्यता रहेको यो विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई गास बास र आवासको व्यवस्था गरिदिन स्थानीय, प्रदेश सरकामा पटक पटक पहल गरे पनि सहयोग प्राप्त नभएको विद्यालयका प्रधानाध्यापक ढालबहादुर उचैंले बताए । उनले विद्यालयको भौतिक पूर्वाधारमा सुधार गरी छात्राबास र चमेना गृह सञ्चालन गर्न सकिए समस्या समाधान हुने विश्वास व्यक्त गरे । अहिलेको अवस्थामा पनि विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान नदिएको बताउँदै छात्राबास नभएकै कारण विद्यार्थीहरुले पढाई छाडेको समेत बताए । रिब्दीकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणीप्रसाद खनालले विद्यार्थीहरुका लागि छात्राबास आवश्यक भए पनि माग नभएको बताए । उनले फरक गाउँपालिकाबाट अध्ययनका लागि आउने विद्यार्थीहरुको सहयोग विषयमा केही नभएको बताए । प्रमुख खनालले समस्याको विषय उठेकोले आवश्यक छलफल गरी उचित निर्णय लिइने समेत बताए । २०२४ सालमा स्थापना भएको नारायण माध्यमिक विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म ३ सय १६ विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित खवर