पाल्पा/ तिनाउ गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दोभान माध्यमिक विद्यालय तिनाउ २ पाल्पाले हात पारेको छ ।
मस्याम माध्यमिक विद्यालयमा गएको फागुन १ गतेदेखि ३ गते सम्म सञ्चालन भएको प्रतियोगितामा दोभान माध्यमिक विद्यालय पहिलो भएको हो । दोभानले ८ स्वर्ण, ६ रजत र ४ कास्य गरी जम्मा १८ पदक जितेर उपाधि हात पार्न सफल भएको हो । यो संगै दोभानले राष्ट्रपति रनिङ शिल्डको उपाधि तेस्रो पटक जितेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।
यस्तैगरी प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र २ कास्य सहित ११ पदक जितेर थानिडाँडा माध्यमिक विद्यालय दोस्रो भएको छ । ३ स्वर्ण ५ रजत सहित तिलोत्तमा माध्यमिक विद्यालय तेस्रो भएको आयोजकले जनाएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले युवा तथा खेदकुदको क्षेत्रलाई प्राथमिकताका साथ राखेर अगाडि बढेको बताए । उनले आवश्यकता र मागका आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्ने समेत बताए ।
तिनाउ २ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता यादव अर्यालले विजयी विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गरे । उनले ग्रामीणभेगमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
खेल समापन कार्यक्रममा मस्याम माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण पाण्डे, दोभान माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठ, तिनाउ ६ का वडा अध्यक्ष टोम बहादुर पुनलगायतले सफल प्रतियोगिहरुले शुभकामना व्यक्त गरेका थिए ।