पाल्पा / रामपुर आयुर्वेद अस्पतालको भवन रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएकाे छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यालय इकाई रुपन्देहीद्धारा निर्माण भएको १५ शैयाको भवन बुधबार एक कार्यक्रमका बीच रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भवन इकाई रुपन्देहीका प्रमुख विदुर खड्काले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले निर्माण सम्पन्न भई प्राप्त गर्नु मात्रै उपलब्धी नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानीय तहको उपलब्धि हुने बताए । उनले स्थानीय तहले प्राप्त गरेको आयुर्वेद अस्पताल भवनको सही प्रयोग र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
यस्तैगरी कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आयुर्वेद अस्पतालबाट आयुर्वेदिक र आधुनिक पद्धतिबाट सेवा प्रदानको अवस्था निर्माण गर्नुपर्ने बताए । उनले अस्पताललाई देश कै नमुना आयुर्वेदिक औषधालय बनाउनुपर्नेमा जोड दिए ।
संघीय आयोजना कार्यालय इकाई रुपन्देहीका प्रमुख खड्काले आयुर्वेद पद्धतिको उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण गरिएको बताए । उनले उद्देश्य अनुसार अस्पताल सञ्चालनमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताए । भवन हरेक हिसाबले सुविधा सम्पन्न रहेको बताउदै उनले सेवा पनि गुणस्तरीय हुन आवश्यक रहेको बताए ।
रामपुर आयुर्वेद अस्पतालको आवश्यकता र वस्तु स्थिति बारे जानकारी गराँउदै रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले तिनै तहको सरकार बीचको समन्वय र सहकार्यमा यसको संचालन र व्यवस्थापन गर्नुपर्ने बताए । आयुर्वेद उपचार पद्धति प्रति जनविश्वास बढ्दै गएको समयमा यसको सेवा प्रभावकारी र गुणस्तरीय हुनु आवश्यक रहेको बताए । पछिल्लो समय यस क्षेत्रका सेवाग्राहीको संख्यामा वृद्धि भई रहेको भन्दै पञ्चकर्म सहितको हरेक सेवा प्रदान गर्न सके सेवाग्राहीको संख्यामा थप वृद्धि हुने प्रमुख पोखरेलको भनाइ छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भौतिक संरचना प्राप्त गर्नु गौरवको कुरा भएको बताए । उनले सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन, संरक्षण र संचालनमा चुनौती रहेको उल्लेख गरे । नगर प्रमुख थापाले नगरपालिकामा आम्दानीको आन्तरिक स्रोतको अभावले संचालन गर्न नसकिने अवस्था रहेकोले आवश्यक छलफल र समन्वय गरी अगाडि बढ्ने बताए । उनले प्रक्रिया अनुसार १५ शैयाबाट २५ शैयामा स्तरवृद्धि गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने एउटा विकल्प समेत रहेको बताए ।
भवन शिवशक्ती कन्स्ट्रक्सन कम्पनी प्रा.लिले ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँ ७६ पैसा बराबरको बजेटमा निर्माण सम्पन्न गरेको हो । करिब ३ वर्षको समयावधिमा किचन , शौचालय, योगा हल , अपरेशन कक्ष , एक्सरे कक्ष , मिटिङ हल , प्रयोगशाला कक्षलगायतका कक्ष गरी ६८ कोठा रहेको ३ तले भवन निर्माण सम्पन्न गरेको साईड ईन्जिनियर सुन्दर बस्यालले जानकारी दिनुभयो ।
विं.सं.२०१७ सालमा तत्काल राजा विरेन्द्रले रामपुर आयुर्वेद औषधालयको रुपमा स्थापना भएको औषधालय २०२९ सालमा लुम्बिनी अञ्चल औषधालयको रुपमा संचालनमा आएको थियो । २०४३ सालबाट राज्यको निति अनुसार फेरी रामपुर आयुर्वेद औषधालयको रुपमा संचालनमा रहेका थियो ।