पाल्पा /रानीमहल एक शताब्दी लामो इतिहास बोकेर उभिएको छ । पुरातत्व विभागको मातहत रहेको यो ऐतिहासिक स्मारक १० वर्षको लागि प्रयोग र संरक्षणका लागि तानसेन नगरपालिकाकालाई हस्तान्तरण गरेकोे छ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयले रानीमहल संघीय सरकार मातहत राख्ने र स्थानीय सरकार तानसेन नगरपालिकालाई संरक्षण र उपयोग गर्न जिम्मा दिने निर्णय गरे अनुसार २०७५ साल साउन १० गते तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरिएको हो ।
तानसेन नगरपालिकाले संरक्षण अन्तर्गत मर्मतसम्भार, रङ्गरोगन र रेखदेखका लागि कर्मचारी व्यवस्थापन गर्दै आइरहेको छ । टिकाउ खालको रङ्गरोगन नहुँदा रानीमहल बिजोक भएको छ । पछिल्लो समय उपयोगको नीति अन्तर्गत प्रवेशमा टिकट व्यवस्थापन गरिएको छ । तर टिकटबाट आम्दानी गर्ने बाहेक रानीमहलको संरक्षण र व्यवस्थापनका ध्यान पुग्न सकेको छैन् । सामाजिक सञ्जालमा चर्को विरोध र पत्रकारहरुले समाचार लेखेपछि प्रवेशद्धार वरिपरी रङ्गरोगन गरिएको छ । अन्य स्थानमा भएको छैन् । अधिल्लो अशोककुमार शाहीको नेतृत्वमा भएका बाहेक अहिले थप नयाँ काम केही हुनसकेको छैन् । रानीमहललाई संङग्रहालयमा परिणत गर्ने गुरुयोजना बनाइएको थियो त्यसको काम अगाडि बढ्न सकेको छैन् । खड्ग शमशेर र तेजकुमारीको तस्वीर, लुगाफाटा र सामग्री राखिएको छ । नेपाल सरकारले देशका एक सय गन्तव्य मध्ये रानीमहल क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत गरेको छ ।
रानीमहलमा भ्यालेन्टाइन्स डे मनाइयो । ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’लाई देश विदेशमा प्रचार गरी आन्तरिक तथा वाह्य पर्यटक रानीमहल सम्म पुग्ने वातावरण निर्माणका लागि यो कार्यक्रम गरिएको मुख्य आयोजक तानसेन नगरपालिकाको भनाइ छ । तानसेन नगरपालिका आफ्नै सोचले भने यो कार्यक्रम गरेको भने होइन् । नाटा लुम्विनी प्रदेश र नाटा पाल्पा च्याप्टरको कन्सेप्टमा कार्यक्रम गरिएको हो । प्रणय दिवस मनाउन रानीमहल पुगेका प्रेमिल जोडीलाई स्वागत सहित सम्मान गरेर मनाइएको दिवसमा जोडीले एक आपसमा गुलावको पुष्प गुच्छा साटासाट समेत गरे । यसका साथै रानीमहलको महत्वलाई स्वदेश र विदेशमा स्थापित गर्न जोडी सम्मान, महादेव मन्दिरमा जोडीबाट सिक्का दानबाट लगायतका काम भए । अब साच्चिकै रानीमहलको प्रचार प्रासार गर्ने र रानीमहलमा पर्यटक ल्याउने भए खासगरी पश्चिमा देशमा विशेष रुपमा मनाइने प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन्स डे ’ पर्खनुभन्दा कुनै तिथी मिति खाेजाैं र आफ्नै शैली, संस्कृति अनुसार ‘रानीमहल डे’ मनाउने योजना तानसेनले अगाडि सार्नु पर्छ । आज जसरी रानीमहल परिसर रेड कार्पेट र गमलाले सिंगारिएको थियो । जसले गर्न चाहना भए सम्भव छ भन्ने कुरा स्पष्ट पारेको छ । यसकाे निरन्तरताकाे पछि लागाैं ।