रानीमहलमा ‘प्रेम दिवस’ मनाइयाे

पाल्पा/ भ्यालेन्टाइन डे मा पहिलो पटक प्रेमको प्रतिक पाल्पाको रानीमहलमा विशेष कार्यक्रम गरिएको छ ।

ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’लाई देश विदेशमा प्रचार गरी आन्तरिक तथा वाह्य पर्यटक रानीमहल सम्म पुग्ने वातावरण निर्माणका लागि कार्यक्रम गरिएको हो ।

तानसेन नगरपालिका र (नाटा) लुम्विनी र पाल्पा च्याप्टरको आयोजनामा रानीमहलमा कार्यक्रम गरिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । प्रणय दिवस मनाउन रानीमहल पुगेका प्रेमिल जोडीलाई स्वागत सहित सम्मान गरिएको छ । जोडीले एक आपसमा गुलावको पुष्प गुच्छा साटासाट समेत गरेका छन् ।

रानीमहलको महत्वलाई स्वदेश र विदेशमा स्थापित गर्न जोडी सम्मान, महादेव मन्दिरमा जोडीबाट सिक्का दान, गुलावका गुच्छा साटासाट, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । यसले रानीमहलको प्रचारमा सहयोग पुग्ने उनको विश्वास छ ।

पुरातत्व विभागको मातहत रहेको यो ऐतिहासिक स्मारक १० वर्षको लागि प्रयोग र संरक्षणका लागि तानसेन नगरपालिकाकालाई हस्तान्तरण गरेकोे छ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयले रानीमहल संघीय सरकार मातहत राख्ने र स्थानीय सरकार तानसेन नगरपालिकालाई संरक्षण र उपयोग गर्न जिम्मा दिने निर्णय गरेको हो । तत्कालीन पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०७५ साल साउन १० गते नगरप्रमुख अशोककुमार शाहीलाई हस्तान्तरणको सहमति पत्र प्रदान गरेका हुन् ।

तानसेन नगरपालिकाले संरक्षणअन्तर्गत मर्मतसम्भार, रङ्गरोगन र रेखदेखका लागि कर्मचारी व्यवस्थापन गर्दै आइरहेको छ । उपयोगको नीति अन्तर्गत प्रवेशमा टिकट व्यवस्थापन गरेको छ । परिसरका हराएका मन्दिरमा मूर्ति राख्ने कार्य गरेको छ । नगरपालिकाले रानीमहललाई संङग्रहालयमा परिणत गर्ने गुरुयोजना बनाएको छ । खड्ग शमशेर र तेजकुमारीको तस्वीर, लुगाफाटा र सामग्री राखिएको छ ।

सम्बन्धित खवर