
पाल्पा/ ज्ञानोदय प्राथमिक विद्यालय माथागढी १ चिदीपानीको ४९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले विद्यालयले गुणस्तरीय शिक्षा दिदै समुदायलाई सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण तयार गरेको बताए । उनले गाउँपालिका भित्रको उत्कृष्ट विद्यालयको रूपमा ज्ञानोदय अग्रसर रहेको समेत बताए । अध्यक्ष चिदीले आगामी दिनमा प्राथमिक तहमा सीमित नरहेर क्रमिक रुपमा माध्यमिक तह सञ्चालनको परिस्थितिको निर्माण भैरहेको समेत बताए ।
कार्यक्रममा वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले समुदायको आवश्यकता र माग बमोजिम विद्यालय स्थानान्तरण गरिएको बताए । सदरमुकामदेखि नजिक भएपनि स्वास्थ्य, शिक्षा, सडक र भौतिक पूर्बाधार विकासमा चिदीपानी क्षेत्र पछि परेको बताउँदै विद्यालयको विकास र तह वृद्धिका लागि समग्र पक्षको सहयोग र् सहकार्य आवश्यक रहेको अध्यक्ष पन्थीले भनाइ रहेको छ ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा सहायक प्रमुख बिष्णु चिदीले विद्यालयको चौतर्फी विकासमा गाउँपालिकाको साथ रहने बताए । उनले गाउँपालिका भित्रका सामाुदायिक तथा संस्थागत विद्यालयको क्षमता विकास गरी समग्र गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि कार्यक्रम चलिरहेको समेत जानकारी गराए ।
कार्यक्रममा पूर्व विद्यार्थीहरु सरोज नेपालले ममतामयी माता स्वर्गीय मानकुमारी नेपालको स्मृतिमा पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ बराबरको मानकुमारी स्मृति सङ्गित तथा नृत्य प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् । त्यस्तैगरी कृष्णप्रसाद पन्थीले पुजनीय पिता स्वर्गीय मित्रलाल पन्थीको स्मृतिमा एकाउन्न हजार एक सय एकाउन रुपैयाँ बराबरको मित्रलाल स्मृति छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । वार्षिकोत्सवका अवसरमा चन्द्रशेखर नेपालले पाँच हजार एक रुपैया र विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णचन्द्र पन्थीले दस हजार बराबरको अक्षयकोषको स्थापना गरिदिएका छन् ।
कार्यक्रममा विद्यार्थी जयदीप पन्थी, कृष्ण पन्थी, कबि खनालले विद्यालयलाई आफ्नो अभिभावकका रुपमा लिएको बताउँदै सोही अनुसार सहयोग गरेको बताए । उनीहरले विद्यालयको विकासका लागि आफुहरुको सक्दो सहयोग निरन्तर हुने समेत बताए । विद्यालयको इतिहास मेटिन लागेको अवस्थामा स्थानान्तरण गरेर भएपनि विद्यार्थी संख्या र भौतिक पूर्वाधार निर्माण हुन लागेकोमा स्थानीय अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा आदर्श आधारभूत विद्यालयको प्रधानाध्यापक गिरिजा पाण्डे, रत्न प्राथमिक विद्यालयका शिक्षक मोहन जिसी, ऋषिराम पन्थी, समाजसेवी विष्णु आचार्यले विद्यालयको थप प्रगतिको शुभकामना व्यक्त गरे ।
अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले पिटी, मार्चपास साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अक्षयकोष दाताबाट तोकिएको शिर्षक अनुसारको पुरस्कार र खेलकुद प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेलाई विद्यार्थीलाइ पुरस्कार वितरण गरिएको थियो । यसका साथै उत्कृष्ट शिक्षकको रुपमा धनिमाया सारुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक बिजयदीप पन्थीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।