पाल्पा/ तानसेन असनटोलमा नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेवारी भोज आयोजना गरिने भएको छ । तानसेन २ असन टोल विकास संस्थाको आयोजना फाल्गुन ५ गते शुक्रबार नेवारी भोजको आयोजना गरिएको संस्थाकी अध्यक्ष अनुजा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार लोपहुँदै गएको नेवारी संस्कृतिको जर्गेना र पुस्तान्तरणको लागि भोजको आयोजना गर्न लागिएको हो ।
भोजमा सहभागीले प्रतिव्यक्ति नौं सय रुपैयाँको कुपन लिनु पर्ने छ । भोजमा नेवारी खानामा २० भन्दा बढी प्रकारको परिकार रहने छ । आयोजना गरिएको भोजमा करिब चार सय बढीको सहभागिता रहने विश्वास संस्था राखेको छ । नेपारी भोजको खाना पलेटी कसेर लस्कर लायर भुइमा बस्ने, सालको टपरीमा राखेर नेवारी संस्कृति अनुसार मर्यादा पूर्वक खुवाइने संस्थाकी सचिव सुनिता थैवले बताएन् ।
नेवारी संस्कृति लोप हुँदै गएको अवस्थामा टोल विकास संस्थाले भोजको आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले संस्कृतिको संरक्षण तथा नेवारी संस्कृतिबारे अध्ययन गर्ने वातावरण तयार हुने सल्लाहकार मदनलाल बज्राचार्यले बताए । भोजमा नेवारी परम्परा र नेवारी खानाको बारेमा जानकारी सहित सांस्कृतिक कार्यक्रम र विभिन्न व्यक्तित्व सम्मान कार्यक्रम हुनेछ । भोजबाट बचत भएको रकम संस्थागत विकासमा खर्च गरिने आयोजक संस्थाले जनाएको छ ।