आवधिक योजना निर्माणको तयारीमा बगनासकाली

गीता रेग्मी

पाल्पा/बगनासकाली गाउँपालिकाले आवधिक गाउँ विकास योजना तर्जुमाको तयारी थालेको छ । आर्थिक, सामाजिकलगायत समग्र क्षेत्रको विकासका लागि दीर्घकालीन सोचसहितको आवधिक योजना तर्जुमा आवश्यक रहेकोले पहिलो चरणको अभिमुखिकरण कार्यक्रम सकिएको गाउँपालिकाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा अहिले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषि, पशु, वातावरण, विपद्् व्यवस्थापन जस्ता संवेदनशील विषयहरू स्थानीय सरकारको दायित्व भित्र रहेका छन् । सीमित स्रोत साधन र असीमित विकासका आवश्यकता तथा आकाक्षा बीचको सन्तुलनका लागि आवधिक योजना निर्माण गर्नु अनिवार्य जस्तै रहेको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए । उनले आवधिक योजना तयारका लागि प्रदेश सुशासन केन्द्र, लुम्बिनी प्रदेशले सहयोग गर्ने छ । आवधिक योजना २०८० सालको जेष्ठ मसान्त भित्र तयार गरिसक्ने उनको भनाइ छ ।

कार्यक्रममा शहरी योजना तथा विकास व्यवस्थापनका टिम लिडर बि.के महजर्नले बगनासकाली गाउपालिकाको पञ्चवर्षीय आवधिक योजनामा समेटिनु पर्ने विषयगत समितिको जिम्मेवारीबाट आउने तथ्यांक, योजना , विकास र असर प्रभावको योजना तर्जुमा चक्र , सुधारका क्षेत्रहरू , दिगो विकासको अवधारणा, विकास तथा योजना तर्जुमा सामाजिक न्याय तथा समविकास, परिवर्तनका विषय वस्तु समेटेर आवधिक योजना तयार गर्न सकिने जानकारी गराए । गाउँपालिकाले यस अघि त्रिवर्षीय आवधिक योजना तयार गरी काम गरेको थियो ।

क्षेत्रीय योजनाविद् मण्डुवाबु अधिकारीले बगनासकाली गाउपालिकाले बनाउन आटेका आवधिक योजनाका बारेमा आवश्यक विधि, कानुनी व्यवस्था, ऐन नियम, आवधिक योजनाको लक्ष्य, उदेश्य दीर्घकालीन सोच, रणनीति , कार्यनीति, समष्टिगत लक्ष्य र कार्ययोजनाका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी ध्ुव अधिकारी, मोहन थापा, मथुरा ढकाल , मोति खनाल र धातानन्द गैरेले आवधिक योजनाले गाउँपालिकाको विकासलाई सही दिशा तर्फ लैजाने बताए । उनीहरुले क्रमिक रुपमा विषयगत प्राथमिकतालाई ध्यानमा राखेर योजना तर्जुमा गर्दा गाउँपालिकाको विकास लयमा आगडि विश्वास व्यक्त गरे ।

आवधिक योजनाले स्थानीय तहमा विधि र प्रकियालाई संस्थागत गर्दछ । कुन अवधिका कुन क्षेत्रमा कुन काम कसले र कहिले गर्ने भन्ने कुराको अग्रिम रूपमा स्पष्ट हुन्छ । आवधिक योजना निर्माणको लागि विद्यमान स्थितिको पूर्ण विवरण तयार हुनु पर्दछ । विद्यमान स्थितिलाई कुन अवधिमा कुन स्तरमा रूपान्तरण गर्ने खाका तयार हुन्छ । यसले प्राथमिकता प्राप्त क्षेत्रमा ध्यान केन्द्रीत गरी अनावश्यक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्दछ । आवधिक योजनाले सम्भाव्य स्रोतको पहिचान र प्रक्षेपण गर्दछ । यसले विषय क्षेत्रगत लक्ष्य, उद्देश्य, रणनीति र प्रमुख कार्यक्रम निर्धारण गर्दछ । सो योजनामा उल्लेखित लक्ष्य, उद्देश्य प्राप्त गर्ने गरी योजनाको प्रभावकारी कार्यान्वयनको लागि विधि, कार्य तालिका र जिम्मेवारी सहित अनुगमन तथा मूल्याङ्कन समेतको व्यवस्था गरिन्छ । जसबाट सम्पूर्ण सरोकारवालालाई समेत स्थानीय सरकारको काम कारबाहीको बारेमा जान्न बुझ्न सहज हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

कार्यक्रममा वाङ्ला इन्जिनियरिङ एण्ड डेभलपर्स प्रा.लि काठमाडौको प्राविधिक सहयोग , प्रदेश सुशासन केन्द्र , लुम्बिनी प्रदेश , नेपालगंन्ज बाँकेको वित्तिय सहयोग , बगनासकाली गाउँपालिकाकोे आयोजनामा कार्यक्रम भएको हो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीति दलका प्रतिनिधि , बुद्धिजीवी, सरोकारवाला, विभिन्न विद्यालयका शिक्षकलगायतको उपस्थिति रहेको प्रमुख प्रशसकीय अधिकृत विष्णु घर्तीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय