जनयुद्ध दिवसमा बिरामीलाई फलफूल वितरण

पाल्पा/  २८ औं जनयुद्ध दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) पाल्पाले दिवसका दिन सोमबार पाल्पा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो ।

पार्टीका केन्द्रयी, जिल्ला तहका नेता कार्यकर्ता, निर्वाचित जनप्रतिनिधि, विद्यार्थीसहित अन्य भातृ संगठनका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले बताए । उनले बिरामीको स्वास्थ्य अवस्था बुझ्नुका साथै अस्पतालबाट उपलब्ध स्वास्थ्य उपचार सेवा बारेमा सेवाग्राहीको धारणा लिने काम समेत भएको जानकारी दिए ।

देशको राजनीतिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको र समाज रुपान्तरण र आर्थिक समृद्धि हासिल गर्नेतर्फ अबको नेतृत्वले सोच्नुपर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले बताए ।

यसैबीच जिल्लाका अन्य स्थानमा पनि जनयुद्ध दिवसका अवसरमा सरसफाई तथा सचेतनामूलक कार्यहरु भएका छन् । रिब्दीकोट गाउँपालिकाले धार्मिक पर्यटकीय स्थल जलेश्वरमा सरसफाई गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

वि.सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि टुंगिएको थियो । जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको भनाइ छ ।

सम्बन्धित खवर