विजयकुमार बौडेल –
तानसेन नगरपालिकाले अव्यवस्थित रुपमा निर्माण गरी व्यापार व्यवसाय सञ्चालन गरेका अव्यवस्थित घर टहराबाट शुल्क उठाउने तयारी थालेको छ । अनुमती बिना भौतिक संरचना निर्माण गरेर उपयोग गरिरहेकाहरुबाट बहाल विटौरी शुल्क उठाउने तयारीमा नगरपालिकाले आवश्यक तयारी थालेको जनाएको छ ।
तानसेन नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक स्थल, राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र स्थानीय सडक सीमा भित्र नगरपालिकाको स्वीकृती नलिई बनाइएका भौतिक संरचनाको बहाल विटौरी शुल्क लिनका लागि लगत संकलनको काम भैरहेको छ । पहिलो चरणमा सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन ८ मा पर्ने गौडेपुलदेखि तानसेन १४ को कुसेनी र तानसेन १ को राइडाँडासम्मको लगत संकलन भएको छ । स्थानीय भित्री सडक सीमाको लगत संकलन क्रमिक रुपमा गरिने तानसेन नगरपालिकाका राजश्व शाखा प्रमुख मधुसुदन घर्तीले बताए । उनका अनुसार अहिलेसम्म ६ सय २१ जनाको लगत संकलन भएको छ ।
तानसेन नगरपालिकाको १२ औं नगरसभाले कुनै व्यक्ति वा संघ, संस्थाले आफ्नो मनोमानी ढंगले भौतिक संरचना निर्माण गरी उपभोग गरिरहेकाहरुसंग बहाल विटौरी शुल्क असुली गर्न आर्थिक ऐन २०७९ संशोधन विधेयक पास गरेको छ । विधेयक पास गरेपछि कार्यान्वयनका लागि तीब्र रुपमा काम भएको सूचना अधिकारी भरत्तप्रसाद आचार्यले बताए । विशेषगरी राजश्व संकलन भन्दा पनि सडक सीमा बचाँउनका लागि काम अगाडि बढेको उनको भनाइ छ । जसले सडक सुरक्षामा समेत सहयोग गर्ने उनको दावी छ ।
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नगरपालिकाबाट सेवा, सुविधा लिइरहेका तर शुल्कको दायरामा नआएकाहरुलाई अभिलेखबद्ध गरी नगरपालिकाको कानुनी दायरामा ल्याउनको लागि प्रयासको थालनी गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए । उनले भने “सबै नागरिकलाई सेवा दिएर सबै नागरिक मार्फत सेवा अनुसारको शुल्क लिने अभ्यास हामीले सुरु गरेका छौं । यसको व्यवस्थापन गर्न सकिए नगरपालिकाको आन्तरिक आम्दानीमा थप गर्न सकिन्छ भन्ने अपेक्षा छ ।” जम्मा भएको रकम नगरवासीकै हितमा खर्च गरिने भएकोले सहज रुपमा शुल्कको दायरामा आएर सहयोग गर्न प्रवक्ता कार्कीले आग्रह समेत गरे ।
नगरपालिकाले व्यक्ति वा संस्थाले आफ्नो मनोमानी ढंगले सार्वजनिक स्थल तथा सडक मिची आवासको रुपमा प्रयोग गरेका अस्थायी कच्ची टहराको प्रति वर्गफुट वार्षिक २ रुपैंया, कच्ची भवन प्रति वर्गफुट २ रुपैंया ५० पैसा, आरसिसि भवन प्रति वर्गफुट ४ रुपैंया, आल्मुनियम फलाम टिनले बनाएको संरचना प्रति वर्गफुट ४ रुपैंया शुल्क लिने छ । त्यस्तै व्यवसायिक प्रयोजनमा प्रयोग भएका अस्थायी कच्ची टहराको प्रति वर्गफुट वार्षिक ३ रुपैंया, कच्ची भवन प्रति वर्गफुट ३ रुपैंया ५० पैसा, आरसिसि भवन प्रति वर्गफुट ५ रुपैंया, आल्मुनियम फलाम टिनले बनाएको संरचना प्रति वर्गफुट ५ रुपैंया शुल्क लिने भएको हो । संरचना नभएका तर खेती तथा अन्य प्रयोजनमा प्रयोग भएका जग्गाहरुको वार्षिक प्रतिरोपनी ५ सय रुपैंयाँ लिने नगरपालिकाले जनाएको छ । जसबाट अहिले संकलन भएको लगतका अनुसार नगरपालिकाको आन्तरिक आयमा करिव १७ लाख ५ हजार ८ सय ३२ रुपैयाँ थप हुने राजश्व अधिकृत घर्तीको भनाइ छ ।