महिलाका लागि आधारभूत उद्घोेषण तालिम

पाल्पा/ माथागढी गाउँपालिका वडा नं. ५ हात्तिलुङमा एक हप्ते आधारभूत उद्घोषण तालिम सकिएको छ ।

वडास्तरीय महिला सञ्जाल समितिको मागमा आधारित तालिम समापनको अवसरमा वडा नं. ५ का वडाध्यक्ष गणेशमान गाहाले महिलाहरुले आफ्नो भावना र विचार अभिव्यक्त गर्नका लागि आधारभूत उद्घोेषण तालिमले सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि थप नेतृत्व विकासका तालिम सञ्चालन गरी महिलाहरुलाई अब्बल र सक्षम बनाउने काममा वडा कार्यालय लागिपर्ने बताए । वडाध्यक्ष गाहाले महिलाहरुले सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्न सक्ने र सामाजिक विषयवस्तु उठाउन नसक्ने अवस्थालाई तालिमले समाधान गरेको बताए ।

वडा नं. ५ हात्तिलुङका महिलाहरुको सहभागिता रहेको तालिममा पत्रकारहरु विजयकुमार बौडेल र नेत्रप्रसाद गैरेले सहजीकरण गरेका थिए । तालिममा सहजकर्ता बौडेल र गैरेले उद्घोषण कला र यसका प्रकार, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, उद्घोषणलाई रोचक बनाउन ध्यान दिनुपर्ने विषयलगायतका शिर्षकमा सहजीकरण गरेका थिए ।

सञ्जालकी अध्यक्ष बोमीसरा कनौजेले महिलाहरुले सार्वजनिक रुपमा आफ्ना कुरा राख्न नसक्ने, कार्यक्रम सञ्चालन गर्न सक्षम नभएका कारण विभिन्न विषयमा पछि पर्ने गरेकोले उक्त समस्याको समाधान गर्न मागमा आधारित रहेर तालिम सञ्चालन गरिएकोजानकारी दिइन् । कनौजेले तालिमले महिलाहरु आफ्ना कुरा निर्धक्क राख्न सक्ने र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सक्ने भएको बताइन् ।

कार्यक्रममा वडा सचिव खडक बहादुर सारुले सात दिनमै महिलाहरु निर्धक्क आफ्ना कुराहरु राख्न सक्ने भएकोमा खुसी व्यक्त गरे । उनले महिलाहरु आफ्ना कुरा सहज रुपमा राख्न सक्दा मात्रै धेरै खाले समस्या समाधान हुने भएकोले तालिम प्रभावकारी भएको बताए । तालिममा सहभागीहरुले तालिमले बोल्ने कलाको सीप सिकाइका साथमा आफ्नो आत्मविश्वास बढाएको र सामाजिक विषयहरु निर्धक्क राख्न सक्ने बनेको बताए । तालिम वडा कार्यालयले एक लाख रुपैंयाँ बजेटबाट सञ्चालन भएको हो ।

सम्बन्धित खवर