
पाल्पा/ माथागढी गाउँपालिका वडा नंं १ चिदीपानीको धैरेनी सामुदायिक स्वास्थ्य इकाई केन्द्र संचालनमा आएको छ ।
इकाई विहिवार देखि सञ्चालनमा आएको हो । माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले इकाईको शुभारम्भ गरेका हुन् । जनताको आधारभूत स्वास्थ सेवा पाउने अधिकार सुनिश्चित गर्नका लागिर स्वस्थ्य इकाई सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष चिदीले बताए । उनले स्वास्थ्य सुविधा लिन धैरेनी क्षेत्रका नागरिकले खेप्नु परेको दुख हटाउन जनताको आवश्कता र माग अनुसार स्वास्थ्य इकाई केन्द्रको सञ्चालन गरिएको बताए । अब सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पुग्ने र आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपर्ने अध्यक्ष चिदीको भनाइ छ ।
शुभारम्भ कार्यक्रमका गाउँपालिका उपाध्यक्ष बिस्नु लुङ्चेले रोग लागिसकेपछि उपचार गर्न भन्दा रोग लाग्न नदिनु बुद्धिमता हुने बताइन् । नियमित स्वास्थ्य परीक्षण गर्दा मधुमेह,उच्च रक्तचापलगायतका रोगबाट बच्न सकिने भएकोले समयमै आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह समेत गरिन् ।
कार्यक्रम माथागढी गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा न १ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले स्वास्थ्य इकाईको सेवा सुरु भएपछि वडावासीलाई सहज हुने विश्वास व्यक्त गरे । उनले सामान्य स्वास्थ्य समस्या आएपनि चेकजाँचका लागि ठूलो खर्च गरेर अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य भएको समेत बताए । स्वास्थ्य इकाईमा तत्कालका लागि दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । जसवाट आवश्यक आधारभूत सेवा उपलब्ध हुने अध्यक्ष पन्थीको भनाइ छ । चुनावी प्रचारका समयमा घरदैलो गर्दा जनताले स्वास्थ्य सेवा लिनका लागि भोगेको दुख नजिकबाट देखेकोले प्राथमिकताका साथ इकाई सञ्चालनमा ल्याएको उनले बताए ।
कार्यक्रममा वडा सदस्यहरु डुकुलबहादुर गाहा, टोलबहादुर मश्राङ्गी, लिलाकुमारी वि.क, गाउँपालिका स्वास्थ्य शाखा संयोजक केशव जिसी, समाजसेवी पूर्णबहादुर सारु , विष्णु आचार्यलगायतको उपस्थिति रहेको थियो ।