पूर्वखोलाको घुम्ती सेवाले सेवाग्राहीको खर्च बचत

पाल्पा / पूर्वखोला गाउंपालिकाले आयोजना गरेको घुम्ती सेवा लिने सेवाग्राहीले खर्च बचत भएको बताएका छन् ।

सेवाग्राहीले सेवा लिनका लागि गाउँपालिका केन्द्रसम्म पुग्नका लागि गाडीभाडा, खाजा नास्तालगायतको खर्च हुनेगरेपनि अहिले वडामा शिविर चलेपछि खर्च बचत भएको बताएका हुन् । खर्च सहित समयको बचत पनि भएको बताए । यसका साथै सहज र सरल रुपमा सेवा लिन पाउँदा खुसी लागेको वडा न १ सिलुवाका नुन वहादुर खासुको भनाइ छ ।

पूर्वखोला गाउँपालिकाले गएको माघ १९ गते देखि माघ २६ गतेसम्म घुम्ती शिविर चलाएको थियो । गाउँपालिका भित्रका ६ वटै वडामा शिविर चलेको हो । स्थानीय नागरिकहरुलाई आवश्यक पर्ने सेवाहरु घर दैलोमा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । उनले गाउँपालिकाले सकेसम्म नागरिकलाई सहज हुनेगरी सेवा प्रवाहमा लागेको बताए । केही समय पहिले एकीकृत स्वास्थ्य सेवाको घुम्ती शिविर संचालन गरेको पूर्वखोला गाउँपालिकाले अहिले पुनः प्रशासनिक सेवा सहितको शिविर चलाएको हो ।

शिविरमा योजना सम्झौता तथा योजनाको फरफारक, व्यवसाय दर्ता, नविकरण तथा सूचिकरण, अपांगता भएका व्यक्तिहरुको पहिचान तथा परिचय पत्र वितरण, गरिव परिवार परिचय पत्र वितरण, पञ्जिकरण, स्वास्थ्य तथा आयुर्वेद सेवा, खानेपानीको गुणस्तर परीक्षणलगायतको सेवा उपलव्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले जानकारी दिए ।

घुम्ती सेवा ६९ वटा योजना सम्झौता भएका छन् । चार वटा योजनाको फरफारक, एक सय ३ जनालाई गरिव परिवार परिचय पत्रको वितरण, १५ वटा अपांगता परिचय पत्र वितरण गरिएको छ । त्यसैगरी शिविरमा व्यवसाय दर्ता , नविकरण तथा सूचिकरणवाट एक लाख १२ हजार ६ सय साठी रुपैया राजश्व संकलन भएको छ भने करिव ६ सय बढी नागरिकले सेवा लिएको गार्उँपालिकाका योजना शाखा प्रमुख बिनोद नेपालले जानकारी दिए ।

गाउंँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान वहादुर सारुको नेतृत्वमा खटिएको शिविरको टोलीले प्रभावकारी रुपमा सेवा दिएको वडा नं ४ देविनगरमा गठन भएको सोमदीप लिन्दीगैरा मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष हेमीसरा गाहाले बताइन् । उनले शिविरले स्थानीय सेवाग्राहीहरुलाई अन्यन्त फाइदा भएको, योजना सम्झौता गर्न ३ जना नै पालिकामा जानु पर्दथ्यो तर आफ्नै वडामा सेवा प्राप्त भएकोले खर्च बचेको, कर्मचारी र सेवाग्राही बीचको दुरी कम भएको बताइन् ।

घुम्ती सेवा कार्यक्रमको आवश्यकता र प्रभावकारीतालाई ध्यानमा राखेर समय समयमा एकीकृत सेवा प्रदान गर्नेगरी शिविरहरु सञ्चालन गरेर धेरै भन्दा धेरै नागरिकलाई गाउँपालिकाले उपलब्ध गराउने सेवामा सहज पहुँच बृद्धि गरिने गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।

सम्बन्धित खवर