फोक्सिङ्गकोटका अभिभावकलाई तालिम

एवत सारु

रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटका अभिभावकहरुको लागि उद्यमशीलता क्षमता विकास तालिम शुरु भएको छ । रम्भा गाउँपालिका स्थित सानाहुँगी माध्यमिक विद्यालय र माईस्थान प्राथमिक विद्यालयमा अध्ययन विद्यार्थीका अभिभावकहरुका लागि तालिम सुरु भएको छ । गाउँपालिकाको वडा नंं २ फोक्सिङ्गकोटका दलित तथा विपन्न परिवारका विद्यार्थीका आमाहरु सहभागी तालिममा उद्यमशीलता क्षमता विकासका कुरा सिकाईने छ । तालिम सिकाई प्रवर्धन परियोजना कार्यक्रम अन्तर्गत रिड नेपालले संचालन गरेको हो ।

तालिममा ३६ जना महिला अभिभावकहरुको सहभागिता रहेको जीविकोपार्जन सहजकर्ता भूमिका सिंजापतीले जानकारी दिइन् । महिलाहरुले जीविकोपार्जनमा सधाएर आफ्ना छोराछोरीको लागि आधारभूत सामाग्री किन्न सक्ने क्षमता विकास गर्ने लक्ष्य राखेर तालिम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ । तालिममा रम्भा २ नं वडाका वडाध्यक्ष चेतबहादुर सुनारीले सीपको पूर्णरुपले सदुपयोग गर्नेगरी सहभागिता जनाउनु पर्ने बताए । उनले भोलीका दिनमा सीपको प्रयोगले आयआर्जन गर्न सक्ने हुनुपर्नेमा जोड दिए । तालिममा दिनेश परियारले सहजीकरण गरेका छन् ।

रिड नेपालले रम्भा गाउँपालिका भरिका ३७ वटा सामुदायिक विद्यालयमा कार्यक्रम लागु गरी सबै विद्यालयको शैक्षिक सूचकमा सुधार गर्ने, दलित तथा विपन्न परिवारका विद्यार्थीको पहुच बढाउने, विद्यालय छाड्ने दर घटाउने, सिकाई उपलब्धि वृद्धि गर्ने लगायतका उद्देश्य राखेर कार्यक्रम संचालन गरि रहेको छ । जस अन्तर्गत दलित तथा विपन्न परिवारका महिलाहरुलाई सशक्त बनाउने, सीप सिकाउने र आय आर्जनमा सहयोग गर्ने समेत रहेको सुमित्रा अधिकारीले बताइन् । तालिम उद्घाटन सत्र जीविकोपार्जन अधिकृत टीकाराम पोख्रेलको अध्यक्षता तथा सहजकर्ता भूमिका सिंजापतीको संचालनमा भएको हो । तालिम माघ २८ गते सम्म चल्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय