
एवत सारु
रम्भा गाउँपालिका वडा नं.२ फोक्सिङ्गकोटका किसानहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । कृषिमा प्रविधिको प्रयोग गरी उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ उपहार उद्यमी महिला सहकारी संस्था र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा फोक्सिङ्गकोटका दश जना कृषकलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको हो ।
उपहार उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गंगीसरा सिंजालीका अनुसार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कृषि सामाग्री अर्थात ट्रयाक्टरका लागि प्रत्येक किसानले २७ हजार रुपिया तिरेका छन् । अनुदानका लागि लागत साझेदारी गरेर खरिद भएको ट्रयाक्टर सहकारीले कार्यालय भवन सम्म ढुवानी गरी मेकानिकको व्यवस्थापनमा पार्टपुर्जा जडान गरेर कृषकलाई वितरण गरिएको हो ।
वितरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारुले किसानहरुलाई प्रदान गरिएको हाते ट्रयाक्टरले समय र श्रमको बचत हुनुका साथै उत्पादन वृध्दि हुने बताइएन् । उनले प्रविधिको प्रयोगले कृषि उपज उत्पादनमा सजिलो बनाउने विश्वास व्यक्त समेत गरिन ।
विशिष्ट अतिथि रम्भा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चेतबहादुर सुनारीले समयानुकूल उपलब्ध कृषि सामाग्रीहरुको प्रयोगले कृषिका लागि सहज हुने बताए । उनले प्रविधिको उच्चतम प्रयोग गरेर उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
वडा सचिव धनकुमारी सारुले प्राप्त साधनको सही र उचित प्रयोग गरी लाभ लिन आग्रह गरिन् । अनुदानमा ट्रयाक्टर पाए पछि कृषक जितबहादुर पाडे खुशी हुदै अब गोरु पाल्ने समय सकिएको र सजिलो गरि हाते ट्रयाक्टरबाट जोत्ने सकिने अवस्था बनेको बताए । उनले खेती गर्न सहज हुने, खनजोतका लागि खर्च कम हुने विश्वास व्यक्त गरे । वितरण कार्यक्रम उपहार उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गंगीसरा सिंजालीको अध्यक्षता र व्यवस्थापक कृष्णमाया पाडेको संचालनमा चलेको थियो ।