
धनबहादुर ठाडा
पाल्पा/ निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा सकिएको छ । शिविरमा पालिकाले वडामै पुगेर सेवा दिएको हो । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यताका साथ पालिकाले एकीकृत घुम्ती सेवामार्फत प्रत्येक वडामा पुगेर नागरिकलाई एकीकृत सेवा उपलब्ध गराएको हो ।
निस्दीले गाउँपालिका कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा/वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका गुनासाहरुलाई सोही ठाउँबाट समाधान गरेको छ । घुम्ती सेवाबाट नागरिकले ठुलो राहतको महसुस गरेको बताएका छन् ।
पालिकाबाट हुने सेवाहरु लिनका लागि केन्द्रसम्म पुग्न नागरिकलाई झन्झटिलो हुनुका साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताए । उनले शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धि अभिमुखिकरण, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङ्गताको परिचय पत्र वितरण, व्यवसाय दर्ता, औषधि वितरण, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरेको बताए । घुम्ती सेवा गएको माघ ११ देखि सुरु भएर १७ मंगलबार सम्पन्न भएको हो ।
गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवाका लागि केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि वडा तहमा वार्षिक योजना अनुसार शिविर सञ्चालन गरिएको हो । नागरिकलाई सेवा प्रदानमा सहज बनाउन अभियान स्वरुप एकीकृत सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले बताए । गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी ७ वटै वडामा पुगेर पालिकाको कार्यालयबाट लिनुपर्ने सेवा शिविरबाटै उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दयालले बताए । गाडीमा यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउन नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सजिलो र स्थानीय सरकारको अनुभूती गराउन शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।
घुम्ती सेवाबाट ७९ वटा योजनाको सम्झौता भएका छन् । यसका साथै ८ वटा योजनाको फरफारक भएको पालिकाका योजना अधिकृत अर्जुन खनालले जानकारी दिए । शिविरमा तीन सय १६ परिवारलाई गरिब घर परिवार परिचयपत्र वितरण गरिएको छ । ४६ जनालाई अपाङ्गताको परिचयपत्र प्राप्त गरेका छन् । यसका साथै ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएको छ । खनालका अनुसार ७५ वर्ष माथिका चार सय ९५ जना जेष्ठ नागरिकलाई सम्मान, दुई सय ९ जनालाई आयुर्वेर्दिक औषधि वितरण तथा स्वास्थ्य परिक्षण, दुई हजार २ सय ६० वटा पशुलाई औषधि वितरण गरेको छ । शिविरमा आयोजना सञ्चालन सम्बन्धि अभिमुखिकरण, माटो परिक्षणका लागि नमुना संकलन अभिमुखिकरण, पञ्जीकरण, मालपोत संकलनलगायतका विभिन्न सिफारिस समेत गरिएको छ ।
शिविरमा ३० लाख पेश्की रकम भुक्तानी गरेको पालिकाका लेखा अधिकृत सरोज काफ्लेले बताए । पालिकाले वडास्तरमा सञ्चालन गरेको घुम्ती सेवाले योजना सम्झौता तथा अन्य सेवा लिन सहज भएको स्थानीयवासीले बताएका छन् । उनीहरुले घर नजिकैबाट सेवा लिन पाउँदा समय र खर्चका साथै सेवा लिन कुनै समस्या नहुँदा खुसी लागेको बताएका छन् । शिविरमा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुुव दयाल सहित विभिन्न शाखाका प्रमुखहरु र स्थानीय जनप्रतिनिधिहरु सेवा प्रवाह र सेवा सहजीकरणमा खटिएको पालिकाले जनाएको छ ।