
पाल्पा/ कुष्ठरोगको बारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जनचेतना मार्फत कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने, परिवारमा माया ममता र सहयोगले मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ ।
७० औ विश्व कुष्ठरोग दिवसमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भेदभाव र लाञ्छनाका कारण कुष्ठरोगीहरु समाजमा खुल्न नसक्दा समस्या जटिल बन्ने गरेको समेत समेत बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कुष्ठरोग के हो ? यसका लक्षण, उपचार र जोगिने उपायका विषयमा प्रस्तुति राखेका थिए । उनका अनुसार पाल्पा जिल्लामा अहिले १२ जना कुष्ठरोगी रहेको बताए । उनीहरु मध्य ७ जना पाल्पा अस्पताल, एक जना रामपुर अस्पताल र ४ जना विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जानकारी दिए । शरीरमा पाँच दाग सम्म भएका विरामीले ६ मसहना र सो भन्दा बढी दाग भएका विरामीले एक वर्ष औषधी खानुपर्ने क्षयकुष्ठ अधिकृत न्यौपानेले बताए । उपचार निशुल्क भएको र यातायात खर्च वापत एक हजार रुपैया पनि प्राप्त हुनेहुँदा संकास्पद रोगीले समयमै स्वास्थ्य उपचारमा ध्यान दिंदा थप समस्या आइनपर्ने उनको भनाइ छ ।
कार्यक्रममा आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने एउटा सरुवा रोग कुष्ठरोग भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । उनले शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु कुष्ठरोगको सुरुको लक्षण भएको बताए । यसका साथै कुष्ठरोग लागेमा अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जाने गर्दछ । यो रोगको समयमा पहिचान र निदान गरिएन भने अन्त्यमा अपाङ्गता समेत बनाउने प्रमुख डा गिरीको भनाइ छ ।
कुष्ठरोगलाई हेला गरिएको रोगका रुपमा लिने गरेको सूचना अधिकारी टिकाराम अधिकारीले बताए । उनले स्नायुमा असर पर्ने हुँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु जस्ता लक्षण कुष्ठरोगमा देखिने बताए । समाजको गलत बुझाईका साथै कानुनले पनि कुष्ठरोगीहरुका विषयमा अन्याय गरेको उनको भनाइ छ ।
समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन भइनसकेको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले बताए । उनले अझै पनि कुष्ठरोगलाई महारोगकै रुपमा लिने गरेकोले भ्रम हटाउन कम सर्ने र अन्य रोगहरू जस्तै उपचार पछि निको हुन्छ भन्ने जनचेतना फैलाउनुपर्ने बताए । पाल्पा २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण जिल्लाका रूपमा घाेषणा भएकाे जिल्ला हाे ।