
पाल्पा/ बगनासकाली गाउँपालिकाका कार्यपालिका सदस्य र न्यायीक समितिका सदस्यहरु बीच हिंसामा परेका महिला र बालबालिकाका लागि उपयुक्त सेवा स्थापना र सुदृढीकरण विषयक संवाद कार्यक्रम गरिएको छ ।
महिला, कानुन र विकास मञ्च काठमाडौंको आयोजनामा भएको कार्यक्रम लैङ्गिक हिंसा निवारणका लागि स्थानीय तहले स्थापना गर्नुपर्ने महिला हिंसा निवारण कोष र बालबालिका सम्बन्धी हिंसा निवारण कोष सञ्चालनको भूमिकाका विषयमा जानकारी गराउन आयोजना गरिएको आयोजक संस्थाका कानुन अधिकृत विनोदचन्द्र देवकोटाले जानकारी दिए ।
संवाद कार्यक्रममा हिंसामा परेका बालबालिकाको अधिकार र कर्तव्य तथा स्थानीय तहको भूमिका विषयमा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सहजीकरण गरेका थिए । उनले पालिका भित्र हिंसाका घटनाहरुको न्यूनीकरणका लागि स्थानीय सरकारले सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । यसका साथै कार्यकारी निर्देशक श्रेष्ठले हिंसा पीडित महिला,बालबालिकाले सहज रुपमा सहयोग प्राप्त गर्नेगरी कोषको स्थापना र सञ्चालनको व्यवस्था गर्नुपर्ने बताए । जसबाट पीडितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनुपर्ने बताए ।
संवाद कार्यक्रममा सहभागीहरुले पालिका भित्र हिंसामा परेका महिला तथा बालबालिहरुको सवालमा कार्यसम्पादन गर्दा आएका समस्या सहजीकरणका चुनौती र सफलताका विषयहरु सुनाएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयन गर्ने दायित्व स्थानीय सरकारको पनि रहेकोले सोही अनुसार काम गरेको बताइन् । उनले पालिकामा महिला हिंसा निवारण कोष र बाल कोष स्थापना भएको बताउँदै पीडित वर्गको समस्या सम्बोधनमा पालिका सफल रहेको दावी गरिन् । अध्यक्ष चिदीले पहिलेदेखि चलि आएको गलत परम्परागत सोच र संस्कारका कारण समाजमा विभेद अझै पनि यथावत रहेकोले बताउँदै गलत अभ्यास अन्त्यका लागि पालिकाले पहल गरिरहेको जानकारी दिइन् ।
कार्यक्रमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले पुर्खादेखि चल्दै आएको संस्कार परिर्वतनमा समस्या रहेको बताए । उनले न्याय सम्पादनको काम पालिकाको न्यायीक समिति मार्फत हुन थालेपछि पीडितका समस्या छिटो र सहज रुपमा स्थानीय तहबाट सम्बोधन हुने गरेको बताए । बालमैत्री गाउँपालिका घोषणा भएको बगनासकाली गाउँपालिकाले सबैखाले विभेद र हिंसाको अन्त्यका लागि निवार कोष स्थापन तथा परिचालन गर्दै हिंसा पीडित महिला तथा बालबालिकाका लागि उपयुक्त सेवा उपलब्ध गराउँदै आएको प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिए ।