
पाल्पा / बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्था बारे प्रहरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । महिला कानुन र विकास मञ्च काठमाडौंको आयोजनामा कार्यक्रम भएको हो । बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्थाका वारेमा प्रहरीलाई जानकारी दिने र सेवा प्रवाहमा प्रहरीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजन संस्थाले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले अभिमुखीकरण कार्यक्रममा सहभागी प्रहरीहरुलाई कार्यसम्पादनमा सहज हुनेगरी सिकाई उपलब्धी गर्न निर्देशन गरे । उनले बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्था बारेको १५ दिने तालिमलाई आयोजक संस्थाले एक दिनमा सक्षिप्तीकरण गरेकोले विषयबस्तु महत्वपूर्ण रहेको बताए । प्रहरी उपरीक्षक शाहीले आफुले विषयगत क्षेत्रमा काम गर्दा भोगेका कुरा बताउने, स्पष्ट हुनुपर्ने विषयमा बिना संकोच सोध्ने र पछि कार्यक्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सक्ने बन्नुपर्ने बताए ।
नेपालको संविधानमा समावेस ३१ वटा मौलिक हक मध्य बालअधिकार पनि एक रहेको आयोजक संस्थाका कानुन अधिकृत विनोद चन्द्र देवकोटाले बताए । उनले संविधानको धारा ३९ मा बालअधिकारको मौलिक हकलाई समेटेको जानकारी दिए । बलबालिका सम्बन्धी ऐन २०७५ ले जन्मदेखि १८ वर्ष उमेर नपुग्दासम्मको उमेर समूहलाई बालबालिका मानेको छ । बालअधिकारको सम्मान, संरक्षण,प्रवद्र्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु परिवार, समाज र राज्यको दायित्व रहेको कानुन अधिकृत देवकोटाको भनाइ छ ।
बाल संरक्षण भनेको बालबालिका विरुद्ध हुने भेदभाव, सबैप्रकारका दुव्र्यवहार, उपेक्षा, शोषण र हिंसाबाट उनीहरुलाई जोगाउनु रहेको कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय तथा नेपालका कानुनहरुले बालबालिकालाई जोखिमपूर्ण श्रम, बालविवाह, घरेलु हिंसा, यौन शोषण तथा बेचबिखन ओसार पसार जस्ता हिंसा र दुव्र्यवहारबाट संरक्षणको अधिकारको व्यवस्था गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्ूथाका विषयमा अधिवक्ता दीपेश श्रेष्ठ, बालबालिका विरुद्ध हुने हिंसामा अनुसन्धान र यस क्रममा प्रहरीले ध्यान दिनुपर्ने पक्षहरुका विषयमा पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापा, बालबालिका विरुद्ध हुने हिंसामा अनुसन्धानको क्रममा पीडितको अधिकारका विषयका संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले सहजीकरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका मुद्दा फाँट र महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवलदार, प्रहरी हवलदार, प्रहरी सहायक हवलदार र प्रहरी जवान गरी कुल २० जना अभिमुखीकरण कार्यक्रममा सहभागी थिए ।