
पाल्पा । बगनासकाली गाउँपालिकाको १३ औं गाँउसभा सम्पन्न भएको छ । गाउँसभाको दोश्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी रकमान्तर तथा संशोधन प्रस्ताव प्रस्तुत गर्दै गाउँपालिकामा हाल देखिएको बेरुजु फस्र्यौटका लागि लगत संकलन, फस्र्यौटका लागि ताकेता गरेको जानकारी दिए ।
गाउँसभामा विशेष समयको प्रयोग गर्दै सभाका सदस्य मोतीलाल बस्यालले पालिका भित्रको जग्गाको भू उपयोग वर्गीकरण सम्बन्धी विषयमा जानकारी गराए । यस्तै शुन्य समयमा सभाका सदस्य ओम प्रकाश गैरेले ऐतिहासिक राम्दी क्षेत्रको महत्व तथा त्यसको व्यवस्थापन सम्बन्धी जानकारी प्रस्तुत गर्दैै क्षेत्रगत विकास र सम्भावनाका बारेमा प्रस्ताव पेस गरेका थिए ।
गाउँसभाको माघ १८ गते बसेको पहिलो बैठकका सभा सदस्य गीता रेग्मीले पेश गरेकाे शिक्षा विधेयक २०७९, खानेपानी तथा सरसफाई स्वच्छता विधेयक २०७९, स्वास्थ्य विधेयक २०७९, सदस्य बोमलाल सुनारले पेश गरेकाे वन विधेयक २०७९ सभाबाट पास गरिएको छ । यस्तै सभाका सदस्य टीका बहादुर थापाबाट प्रस्तुत दिर्घकालीन सोँच परिमार्जनको प्रस्ताव सभाबाट पास गरिएको छ । विधेयक समितिका संयोजक उमाकला अर्यालद्वारा प्रस्तुत नीति, कार्यविधि र मापदण्डहरु अनुमोदन गरिएको थियो । यसका साथै सभाले बालविवाह विरुद्धको पञ्चवर्षिय रणनीति योजना २०७९ र लिलाम कार्यविधि २०७९ समेत पास गरेको पालिकाका प्रवक्ता टिकाबहादुर थापाले जानकारी दिए ।
सभामा उठेका विषयमा छलफल गर्दै सभा सदस्य यमलाल तिमिल्सेनाले जनताको तराई झर्ने रहर र वन्यजन्तुका कारण जनताले सास्ती खेप्नु परेको बताए । उनले समय अनुसार बस्ती विकास योजना नहुँदा जग्गा जमिन बाँझो रहन पुगेको समेत बताए । बगनासकालीको समृद्धिको लागि बस्ती विकासका लागि पालिकाले संकल्प प्रस्ताव पास गर्नुपर्नेमा जोड दिए ।
यस्तै अर्का सभासदस्य कृष्ण प्रसाद भुसालले पूर्वाधार निर्माणमा उचित व्यवस्थापन हुनुपर्ने, नक्शा पासलाई अनिवार्य बनाउनु पर्ने, विपदमापर्ने जनतालाई सहज राहतको व्यवस्था मिलाउनु पर्ने, शिक्षालाई योजनावद्ध बनाई अघि बढाउनुपर्नेमा जोड दिए ।
गाउँसभामा सभा सदस्य लक्ष्मी प्रसाद अधिकारी, तीर्थ प्रसाद भट्टराई, युवराज श्रेष्ठलगायत सदस्य समेत आफ्ना भनाइ राखेका थिए । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्राप्त सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताइन् । यसका साथै चालु आर्थिक वर्षमा तय भएका योजना तथा कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि सबै पक्ष इमान्दार भएर लाग्नुपर्नेमा जोड दिइन् ।