कमल अधिकारी
पाल्पा पछिल्लो समय परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको छ । प्लाष्टिकका गुन्द्रीको प्रयोग बढेसँगै परम्परागत परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको हो । ग्रामीण समाजको मौलिकतासँग जोडिएको परालको गुन्द्री बुन्नका लागि मंसिरमा धान काटेपछि अलि लामो पराल छुट्याएर राख्ने र पुष र माघ महिनामा गुन्द्री बुन्ने पुरानो चलन गाउँघरबाट हराउँदै गएको हो ।
पछिल्लो समय युवा शक्तिको कमी तथा आधुनिक मानिने प्लाष्टिकका गुन्द्रीको सहज प्रयोग बढेसँगै परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको ग्रामीण भेगका स्थानीयवासीले बताएका छन् । पाल्पासहित पहाडी जिल्लाहरु बुनिने परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्नबाली सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउने र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको थियो । तर, पछिल्लो समय गुन्द्री बुन्ने जनशक्ति नहुने ग्रामीण भेगमा प्लाष्टिककै गुन्द्रीको प्रयोग बढेको छ ।
गाउँमा पनि बजारबाटै गुन्द्री ल्याएर प्रयोग गर्ने गरेको बगनासकाली गाउँपालिका ९ पिप्लेकी स्थानीय शान्ति न्यौपानेले बताइन् । अहिले गाउँघरमा गुन्द्री बुन्नेहरु कम भएको तर बजारका गुन्द्री प्रयोग गर्ने बढी रहेको उनको भनाइ छ । बजारमा किन्दा आफूले परालको बुन्दा लागत कम पर्ने न्यौपानेले बताइन् । गाउँमा उत्पादन भएको पराल किनेर गुन्द्री बुन्न भन्दा किनेरै प्लाष्टिकको गुन्द्री प्रयोग गर्न सस्तो परेको बगनासकाली ४ की गोमता गैरेले बताइन् । अहिले ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझिने क्रम बढेसँगै पर्याप्त पराल पाउनै मुस्किल हुने गरेको स्थानीयले बताएका छन् । उन्नत जातको धान लगाएपछि छोटो पराल हुने र त्यो पनि गाईवस्तुलाई खुवाउनका लागि नै अपुग हुन थालेसँगै गुन्द्री बुन्ने प्रचलन लोप हुने अवस्थामा पुग्नुको अर्को कारण रहेको उनीहरुको भनाइ छ ।
पाल्पाका सबैजसो स्थानीय तहका ग्रामीण भेगमा एक दशक अघिसम्म गुन्द्री बुन्ने प्रचलन रहेपनि हाल सीमित स्थानका नागरिकले मात्रै यसरी गुन्द्री बुन्ने गरेका छन् । अहिले केही मात्रामा यसरी बुनीने गुन्द्रीको प्रयोग हुने गरेको ग्रामीण भेगका स्थानीयले बताएका छन् । जनशक्ति र पराल अभावसँगै लागत पनि धेरै लाग्ने हुँदा यसतर्फ आर्कषण हुन नसकेको महिलाहरुको भनाइ छ ।
महिलाहरुले बुन्ने गुन्द्रीको प्रयोग गर्नाले न्यानो हुने तथा यसको प्रयोग स्वस्थकर मानिने भएपनि गुन्द्रीको प्रयोग भने हिजोआज घट्दै गएको छ । प्लाष्टिकको गुन्द्रीको तुलनामा परालको गुन्द्री प्रयोग गर्दा न्यानो हुने हुँदा वृद्ध तथा बाल बालिकालाई बसाल्न निकै उपयोगी मानिदैँ आएको छ । हाल गाउँघरमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक—दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ ।
गाउँगाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको ग्रामीण भेगका नागरिकले बताएका छन् । घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले पनि घरमा गुन्द्री बुन्ने चलन घट्दै गएको हो । आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउनुपर्ने पुराना पुस्ताको भनाइ छ । यसको सीप हस्तान्तरण र परम्परागत उत्पादनलाई जोगाइ राख्न स्थानीय सरकारले पनि सम्भाव्यताको पहिचान गरी कार्यक्रम लागू गर्नुपर्ने आवश्यक देखिन्छ ।