
किसन पोखरेल
पाल्पा / रम्भा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि लक्षित गरेर च्यावनप्राश उत्पादन गरेको जनाएको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा १ नंं वडा कार्यालयको अगुवाईमा च्यावनप्राश उत्पादन भएको छ । जसमा सेवा केन्द्रका कविराज मिलन आचार्यले नेतृत्व लिएर उत्पादनको काम भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । पौष्टिक आहारका रुपमा रहेको च्यावनप्राश पालिकामा रहेका ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वितरण गर्नका लागि पालिकाले आफै उत्पादन गरेको उनले बताए । बजारबाट खरिद गर्दा बढी मूल्य र गुणस्तरमा पनि समस्या हुने भएकोले कम लगानीमा आफैले उत्पादन गरिएको समेत बताए ।
च्यावनप्राश आयूर्वेदको चरक समिताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको कविराज मिलन आचार्यले बताए । उनका अनुसार पालिकाले उत्पादन गरेको च्यावनप्राश अमला सहितका ४४ वटा जडिबुटीको मिश्रणबाट तयार गरिएको जानकारी दिए । समावेश भएको जडिबुटीको भिन्न–भिन्न गुण हुने भएकोले यसको सेवनले ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास कविराज आचार्यको रहेको छ । अहिले सम्म करिव ४ सय केजी च्यावनप्राश उत्पादन गरिसकेको पालिकाले जनाएको छ । जसका लागि करिव तीन लाख ४० हजार खर्च भएको छ ।
उत्पादन भएको च्यावनप्राश उपभोग गर्ने ज्येष्ठ नागरिकको बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसो लाग्ने समस्या समाधान भएको प्रतिक्रिया प्राप्त भएको कविराज आचार्यको भनाइ छ । उनका अनुसार शरीरमा भएका कोषिकाहरुलाई वयस्क रुपमा राख्नका लागि च्यावनप्राशले मद्दत गर्ने उनको विश्वास रहेको छ ।
उत्पादन भएको च्यावनप्राश सहित रम्भा गाउँपालिकाले पाँच वडाका ज्येष्ठ नागरिको घरघरमा पुगेर स्वास्थ्य सेवा समेत उपलब्ध गराएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार व्यवस्थापन कार्यक्रम अन्र्तगत प्रदेश सरकारको ७० वर्ष माथिका पाँच सय ज्येष्ठ नागरिकको घरमै सेवा उपलब्ध गराउनेलक्ष्य भएपनि पालिकाले थप आफ्नै बजेट व्यवस्थापन गरेर आफ्नो पालिका भित्रका सबै ज्येष्ठ नागरिकका लागि घरमै सेवा उपलब्ध गराउन थालेको हो । गाउँपालिका भित्र करिव १ हजार २ सय ८२ ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य सेवा सहित आधा किलो च्यावनप्राश घरघरमै उपलब्ध गराउने कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ रानाले बताए । उनका अनुसार उमेर र स्वास्थ्य समस्या भएका कारण हिँडडुल गर्न नसक्नेका लागि स्थानीय सरकारले घरमै सेवा उपलब्ध गराउँदा सहज रुपमा सेवा प्राप्त गर्न सक्ने भएकोले पौष्टिक उपहार सहित सेवा उपलब्ध गराइएको बताए ।
कार्यक्रममा २ चिकित्सक सहित २१ जना स्वास्थ्यकर्मीहरु वडा भित्र रहेका टोल बस्तीका घरघरमा पुगेर सेवा दिने पालिकाका स्वास्थ्य शाखा संयोजक शिवप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकलाई घरमै भेटेर आधारभूत स्वास्थ्य सेवाका साथै मधुमेह, रक्तचाप आदीको परीक्षण गरिएको बताए । यसका साथै पोषण, सरसफाई सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराइएको छ ।
बुढेसकालमा घरमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य चेकजाँच गर्दा ज्येष्ठ नागरिकलाई सहज भएको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । विभिन्न समस्याले समयमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका नागरिकले पालिका मार्फत घरमै पौष्टिक आहार र स्वास्थ्य सेवा प्राप्त गर्दा स्थानीय सरकारको अनुभूती गर्न पाएकोमा खुसी व्यक्त गरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।