रम्भामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

एवत सारु

पाल्पा/ रम्भा गाउँपालिकामा १४ औं राष्ट्रिय तथा चौंथो रम्भा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
तीन दिन सम्म सञ्चालन भएको खेलमा विभिन्न १३ वटा विधामा प्रतियोगिता भएको थियो । छात्र तथा छात्रा तर्फ गरी २६ विधामा भएको खेलमा अमृत पब्लिक माध्यमिक विद्यालय रम्भा ३ पिपलडाँडाले १५ स्वर्ण, ६ रजत तथा १ कास्य पदक सहित प्रथम भएको छ । जनकल्याण माध्यमिक विद्यालय रम्भा १ हुँगीले ७ स्वर्ण, ७ रजत तथा ८ कास्य सहित दोश्रो भएको छ । यस्तै रम्भा माध्यमिक विद्यालय रम्भा ५ ताहुँले १ स्वर्ण, ५ रजत तथा १ कास्य सहित तेश्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र एक हजार पाँच सय मिटर दौड, १००×४ रिले दौड, ज्याभलिङ्ग थ्रो, हाईजम्प, लङ्ग जम्प, ट्रिपल जम्प, शटपुट, कबड्डी, भलिबल लगायतका खेल खेलाइएको थियो ।
अमृत पब्लिक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा राष्ट्रिय खेल भलिबल तथा कबड्डी खेलको फाईनल खेल हेर्न स्थानीयबासीको घुइचो लागेको थियो ।

प्रतियोगिता समापन पछि बिजयी खेलाडीहरुलाई रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रमाण पत्र, मेडल तथा कप प्रदान गरे । उनले खेलकूद विकासबाट विद्यार्थीको स्वास्थ्य, सामाजिक तथा बौद्धिक विकासमा टेवा पुग्ने बताए । उनले पालिका भित्रका विद्यार्थीहरुको शैक्षिक,बौद्धिक विकासका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्दै आएको समेत बताए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग रानाले रम्भा गाउँपालिका भित्रका विद्यार्थीहरुमा खेल विकास गर्न प्रतियोगिता सफल भएको बताए । उनले प्रतियोगिताले जिल्ला स्तरीय खेलमा रम्भा गाउँपालिकाको उत्साहजनक सहभागीता सुनिश्चित गराएको समेत बताए ।

शिक्षा अधिकृत मीनादेवी आचार्यले खेलमा विद्यार्थीको सहभागीता महत्वपूर्ण रहने बताइन् । प्रतियोगितामा व्यवस्थापन तथा संचालनमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको अमृति पब्लिक माविका सहायक प्रधानाध्यापक माधव डुम्रेले जानकारी दिए ।

प्रतियोगिता सबैको सहयोगमा भव्यताका साथ सम्पन्न गर्न सकिएकोमा अमृत पब्लिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सूरबहादुर सुनारीले धन्यवाद व्यक्त गरे । समापन कार्यक्रम विद्यालयका प्रधानाध्यापक राधेश्याम शाहको अध्यक्षतामा चलेको शिक्षक अबित सारुले जानकारी दिए ।

सम्बन्धित खवर