तानसेनमा सडक खाना महोत्सव हुने

पाल्पा/ तानसेनमा सडक खाना महोत्सव हुने भएको छ । तानसेन ४ मा रहेको मखनटोल टोल विकास संस्थाले यही माघ २० शुक्रबार तेर्सो सडकमा महोत्सवको आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

संस्थाले तानसेनमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न खाना महोत्सव गर्न लागेको संयोजक प्रबिता शाक्यले बताइन् । उनले पछिल्ला वर्षमा कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएको खाना महोत्सवलाई निरन्तरता दिइएको जानकारी गराइन् । उनका अनुसार महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार सहित सांस्कृतिक कार्यक्रम हुने बताइन् । करिव ७० स्टल रहने महोत्सवमा महिलाद्धारा उत्पादित वस्तु तथा सेवालाई विशेष प्राथमिकता दिइने आयोजक संस्थाले जनाएको छ ।

तानसेन नगरपालिका वडा नं. ४ को चालु आर्थिक वर्षको पर्यटन प्रर्वद्धन शिर्षक अन्र्तगतको दुई लाख रुपैयाँ र अन्य सरकारी तथा सामाजिक संघसंस्थाको सहयोग र समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको संस्थाकी सदस्य नविता थैबले जानकारी गराइन् । महोत्सवमा छिमेकी पालिकाहरुका किसानले उत्पादन गरेको अकबरे खुर्सानी, सुन्तलालगायतको कृषिजन्य वस्तुहरुको प्रर्दशनी तथा बिक्रीका स्टलहरु राखिने संस्थाकी सचिव ज्ञानु कार्कीले बताइन् ।

पत्रकार सम्मेलनमा तानसेन ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले तानसेनको पर्यटन प्रर्वद्धनका लागि खाना महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले वडावासीको क्रियाशीलतामा हुने सबैखाले गतिविधिमा वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले तानसेनको मुख्य केन्द्रमा हुनलागेको महोत्सवको सफलताको शुभकामना व्यक्त गरे । उनले महिलाहरुको सक्रियातामा हुने महोत्सवमा फरक परिकारको व्यवस्थापनमा जोड दिन आग्रह समेत गरे ।

संस्थाकी अध्यक्ष प्रमिला कार्कीले महोत्सव सफल बनाउन विगतमा जस्तै सहयोगको अपेक्षा राखेको बताइन् । उनले महोत्सवमा करिब पाँच हजार दर्शकको सहभागिता रहने जसमा करिब २५ लाख बराबरको कारोबार हुने अनुमान गरिएको समेत जानकारी दिइन् । प्रतिस्टल एक हजार पाँच सय शुल्क निर्धारण गरिएको महोत्सवमा भएको आम्दानीको रकमले वडाको सामाजिक कार्यमा खर्च गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले विगतमा आयोजना भएको महोत्सवमा दर्शकको चाँप बढी हुँदा व्यवस्थापनमा समस्या रहेकोले यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय