द्रुत प्रतिकार्य टोली अभिमुखिकरण

पाल्पा / स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली अभिमुखिकरण तथा कार्ययोजना गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।
गोष्ठीमा द्रुत प्रतिकार्य टोली तथा आपतकालिन चिकित्सकीय समूह परिचालन निर्देशिका २०७९ मा भएको व्यवस्था बारे स्वास्थ्य कार्यालय पाल्पामा कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले जानकारी गराए । उनले स्वास्थ्यमा आउने विपद्को सहज रुपमा व्यवस्थापन गर्न जिल्ला, स्थानीय तह र वडामा द्रुत प्रतिकार्य समिति र टोली गठनको व्यवस्था गरेको जानकारी दिए । प्रमुख डा गिरीले स्वास्थ्य देखा पर्ने महामारीको पहिचान, प्रतिकार्य र पछिको अवस्था व्यवस्थापनमा सहजिकरण र समन्वयमा समितिले काम गर्ने समेत बताए । जिल्लामा स्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन हुने व्यवस्था छ । स्थानीय पालिकामा गाउँपालिका प्रमुख र वडा तहमा स्वास्थ्य संस्था प्रमुख संयोजक रहने व्यवस्था निर्देशिकाले गरेको छ ।

गोष्ठीमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले महामारी बारे कोही कसैलाई पूर्व जानकारी नहुने भएकोले सधै तयारी अवस्थामा रहनुपर्ने बताए । उनले पहिला योजना तयार गरेर बस्दा विपद्को सामना सहज रुपमा गर्न सकिने समेत बताए । प्रमुख खनालले सचेतनासंगै समयन्त्रको क्रियाशीलता र आवश्यक जनशक्तिको चुस्त दुरुस्त व्यवस्थापन गर्दा महामारी नियन्त्रणमा सफल बन्न सकिने विश्वास व्यक्त गरे ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबै विपद् महामारी नहुनसक्ने बताउदै महामारी भएपछि सोच्नुभन्दा पूर्वतयारीमा जिम्मेवार बन्नुपर्ने बताए । उनले निर्देशिका अनुसार समित गठन गरेर जिम्मवार बनाउँदा परिचालनमा सहज हुने समेत बताए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले आपतकालीन अवस्थामा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तह सधै सक्रिय रहेको बताइन् । उनले तोकिएको व्यवस्था अनुसार समिति गठन,जनशक्ति व्यवस्थापनका साथै आर्थिक व्यवस्थापनमा लाग्ने बताइन् ।

स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले स्वास्थ्यमा आइपर्ने दैविक प्रकोप समाधानका लागि द्रुत प्रतिकार्य टोलले काम गर्ने बताए । उनले समित र टोलीका लागि दशै पालिकामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । मानिसमा मौषम अनुसार स्वास्थ्यमा फरक फरक संक्रमण देखिने भएकोले त्यसको रोकथामका लागि उपयुक्त योजना आवश्यक हुने बताए ।

जिल्लाका स्थानीय तहका प्रतिनिधि, तीन सुरक्षा निकाय, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि,समाजिक संस्थाका प्रतिनिधि,पत्रकार तथा अन्य सरोकारबालहरुको सहभागिता रहेको गोष्ठीमा द्रुत प्रतिकार्य समिति र टोली गठन गरी अभिमूखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याव टेक्निसियन मधुसुधन भट्राईले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय