पूर्वखोलाको उपहार सहित जेष्ठ नागरिकको घरमै उपचार

पाल्पा/ पूर्वखोला गाउँपालिका पाल्पाले आफ्नो पालिका भित्र रहेका जेष्ठ नागरिकलाई उपहार सहित घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । यसका साथै कार्यक्रममा पूर्ण अपांगता भएका व्यक्तिहरुलाई पनि समेटिएको छ । चालु आर्थिक वर्षको जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्र्तगत सेवा प्रदान गरिएको छ । कार्यक्रम गएको पौष १७ गते वडा नं. ४ देविनगरबाट शुभारम्भ गरिएको छ ।

पालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई लौरो उपहार दिने गरेको छ । बुढेसकालमा लौरो टेकेर हिडडुल गर्न सहज हुने भएकोले उपहार सहित घरदैलोमा स्वास्थ्य उपचार गर्ने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । चालु आर्थिक वर्षमा प्रदेश सरकारको ७० वर्ष माथिका पाँच सय जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेकोमा पालिकाले आफ्नो बजेट थप गरेर ८० वर्ष माथिका जेष्ठ नागरिकलाई पनि सेवा दिइएको अध्यक्ष थापाको भनाइ छ । यसका साथै पालिका भित्र रहेका क वर्गका अपांगता भएका व्यक्तिहरुलाई समेत स्वास्थ्य सेवामा जोडिएको छ ।

गाउँपालिकामा ८० वर्ष माथिका जेष्ठ नागरिकको संख्या दुई सय ५६ रहेको छ । यसका साथै ७० वर्ष माथिका जेष्ठ नागरिकको संख्या सात सय ७१, पालिका भित्र क वर्गका अपांगता परिचय पत्र प्राप्त ४९ जना रहेका छन् । ७५ वर्षदेखि ८० वर्ष भित्रका जेष्ठ नागरिकको संख्या तीन सय ५१ गरी जम्मा एक हजार ७६ जना कार्यक्रमबाट लाभावित हुने पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमका लागि प्रदेश सरकारको एक लाख ७५ हजार र गाउँपालिकाको तीन लाख गरी कुल चार लाख ७५ हजार बजेट विनियोजन भएको छ । जेष्ठ नागरिकका लागि लौरो र अपांग भएका व्यक्तिलाई ब्लाङकेट उपलब्ध गराइएको छ । उमेर र अवस्थाका कारण स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न नसक्ने भएकोले घरमै उपचारका लागि कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए । उनका अनुसार १५ जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । उनीहरुले प्रत्यक वडामा रहेका जेष्ठ नागरिक र क वर्गका अपांग भएका व्यक्तिहरुलाई भेटेर स्वास्थ्य चेकजाँच गर्नुका साथै स्वाथ्य परामर्श सेवा उपलब्ध गराउने गरेको बताए । यसका साथै उनीहरुको रक्तचाप, मधुमेह परीक्षण समेत घरमै गरिएको छ । नाक,कान घाटीको जाँचका साथै सरसरफाईका लागि नंङ काटिदिने र हातधुन सिकाउने समेत गरिएको शाखा संयोजक ढकालको भनाइ छ ।

घरमै स्वास्थ्य सेवा लिन पाउँदा जेष्ठ नगारिकहरु खुसी भएका छन् । उनीहरुले उमेरका कारण सहज रुपमा स्वास्थ्य चौकीमा पुग्न नसक्ने भएकोले थलिएर घरमै बस्नुपर्ने बाध्यताको अन्त्य पालिकाको यो कार्यक्रमले गरेको बताए । कतिपय परिवारमा जेष्ठ नागरिकको रेखदेखमा कोहि नभएकोले सामान्य उपचार अभावमा दुख भोग्नु परेको अवस्थामा जेष्ठ नागरिक भेटिएको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले बताए । घरमै पुगेर स्वास्थ्य परामर्श सेवा प्रवाह गर्दा जेष्ठनागरिकको जीवनशैलीमा समेत परिर्वतन आएको पालिकाको दावी छ ।

सम्बन्धित खवर