
धनबहादुर ठाडा
पाल्पा/ हिजोआज गाउँघरमा पुराना संस्कृति र परम्परा मात्रै होइन, स्थानीय प्रविधि समेत लोप हुँदै गएको छ । गाउँघरमा उत्पादन भएको डोको, ढिंकी, झाँतो जस्ता स्थानीय प्रविधि कमै मात्रामा प्रयोग भएको देखिन्छ । पछिल्लो समयमा भारी बोक्ने सबैभन्दा सजिलो र भरपर्दो साधन डोको पनि लोप हुँदै गएको छ । जहाँ अलि पाको उमेरका बुढापाका छन, त्यो परिवारमा मात्रै डोको देख्न सकिन्छ । नयाँ पुस्ताले डोको बुन्ने सीप सिकेको कमै मात्रामा देखिन्छ । गाउँघरमा पनि यसको प्रचलन विस्तारै हराउदै गएको छ । डोको भारी बोक्नको लागि धेरै सजिलो साधन हो । गाउँघरमा विषेशगरी खेतबारीमा मल ओसार्न, पानी बोक्न, अन्नपात बोक्न, घाँस दाउरा गर्न डोको प्रयोग गर्ने गरिन्छ । पहिलाका बुढापाकाहरुले मधेसबाट डोकोमै नुन, मकै, धान बोकेर ल्याउने गर्थे । तर, हिजोआज यसरी डोकोमा भारी बोकेको कमै मात्रामा देख्न पाइन्छ ।
निस्दी गाउँपालिका–३, झिरुबास, खादरका स्थानीय बासिन्दाले भने अहिले पनि डोको बुनेरै गुजारा चलाउदै आएका छन् । सीपको पुस्ताहस्तान्तरण नहुँदा डोको लोप हुने अवस्थामा पुगेको छ । खादरका नागरिकहरु धेरै मिहिनेती र इमानदार छन् । यहाँका मान्छेहरु जुनसुकै बेला व्यस्त देखिन्छन । जुन समयमा पनि यहाँका बुढापाकाहरु आगनमा डोको बुनेर बसेको भेटिन्छ । प्रायः सबै घरका मानिसले डोको बुन्ने गर्दछन् । यहाँबाट उत्पादन भएको डोको नवलपुर जिल्लाको अरुणखोला, चोरमारा तथा पाल्पाको रामपुरमा लगेर विक्री गर्ने गरेको स्थानीय ओमलाल थापा मगरले बताए । डोको निगालो र बाँसको चोयाबाट तयार पारिन्छ । पहिला–पहिला डोको घाँस दाउरा गर्न भारी बोक्ने साधनको रूपमा मात्रै होइन, मगर समुदायमा भएको विवाहको भोजभतेरमा पाहुर बोक्न समेत प्रयोग गरिन्थ्यो । अहिले यस्तो कार्यमा समेत डोकोको प्रयोग कमै मात्रामा हुनेगरेको स्थानीयको भनाइ छ ।
डोको ३ सय देखि ५ सय सम्ममा विक्री हुने गरेको ८६ वर्षीय खेमन सिं बयम्बुले बताए । पहिले एक दिनमा तीन वटासम्म डोको बुनेर सकिन्थ्यो तर अहिले एउटा डोको बुन्न दुई दिन लाग्ने बयम्बुको बताए । आँखाले राम्रोसँग देखिन्न, हात चल्दैन मनले मात्रै खोजेर नसकिने बयम्बुको भनाइ रहेको छ । जमानामा दस बाह्र वटा डोको बोकी मधेसमा झरेर अन्नसँग साटेको कुरागर्दै अहिले धेरै सजिलो अवस्था आएको बताए । करिब ५० वर्ष अगाडि एउटा डोको तीन मोहोरमा बेचेको सुनाउदै अनिकालमा चार वटा डोको २ पाथी धानमा समेत साटेको बयम्बु सुनाए । अहिले डोको बुन्नेको कमी भएका कारण जतिवटा बुनेपनि पहिला जस्तो बजारको समस्या छैन् । घरबाटे विक्री हुनेगरेको स्थानीयले बताए ।
मेहनत र श्रम अनुसारको मुल्य पाएको छैन । तर, पनि यहाँका मान्छेहरुले डोको बुन्न छाडेका छैनन् । डोको बुनेरै बुढो भएको हुँ, आँखाले देखुन्जेल र हातखुट्टा चल्दासम्म डोको बुन्न नछाडने ७३ वर्षीय हरिलाल बयम्बुले बताए । उनले आफ्नो पालामा अहिलेजस्तो सजिलो नभएकोले पैसा कमाउन र जीवन निर्वाहका लागि डोको बुन्नेकाम गर्नुपरेको बयम्बुको भनाइ छ । अहिले सजिलोसँग गुजारा चलाउन सकिन्छ, जाँगर र सीप भएको मान्छेले पेट पाल्न समस्या नभएको बयम्बुले बताए । सीप र जाँगर भएको मान्छेलाई डोको बुन्न त्यति गाह्रो काम चाहिँ होइन । दौडधुप, उकालो ओरालो गर्नुपर्ने पनि होइन । तर, समय र मिहिनेतको भने उत्तिकै खाँचो पर्दछ । खाली समयमा यत्तिकै बस्न नसकिने भएकोले डोको बुन्नेर बस्ने सथानीय नरबहादुर ढेंगाले बताए । जाँगर चलाउने हो भने एक दिनमा ३ वटासम्म डोको बुन्न सकिने ढेंगाले बताए । यहाँका अधिकांश नागरिकले डोको बुन्ने गरेको र बेच्नलाई कहिलेकाहीँ मधेस झर्ने गरेको ढेंगाको भनाइ छ ।
निस्दीका नागरिकको मुख्य पेसा कृषि नै हो । यो क्षेत्र अम्लिसो र अलैंचीमा पनि धेरै अगाडि देखिन्छ । तर खादरको डोकोले छुट्टै पहिचान बनाएको छ । साच्चिकै झिरुबासलाई चिनाउने माध्यम काउले डाँडापछि खादरको कुँडुले घर र डोको रहेको छ । मुलुकमा संघीयता लागु भएपछि स्थानीय तहमा प्रशस्त बजेट आउने गर्दछ । बजेटले भौतिक पूर्वाधारको विकासमा बढी प्राथमिकता पाएको देखिन्छ । स्थानीय सरकार युवा पुस्तामा सीपको हस्तान्तरण र संरक्षणका लागि आवश्यक कार्यक्रम सचालनमा ध्यान दिनसके पुराना सामग्रीको उत्पादनसंगै स्थानीय स्तरमा युवालाई आयआर्जनमा जोडन सकिने सरोकारवालाहरुको भनाइ छ