
पाल्पा/ रिब्दीकोट गाउँपालिकाको गाउँसभाको बाह्रौ अधिवेशन सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीको अध्यक्षतामा अधिवेशनको पहिलो बैठकमा बसेको हो । बैठकमा सभाका सदस्यहरुले समग्र पालिकाको विषयमा आफ्नो भनाइ राखेका थिए ।
गाउँपालिका अध्यक्ष कार्कीले रिब्दीकोट गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक योजना तथा कार्यक्रमको संशोधन गरिने बताए । उनले पालिकालाई सम्वृद्ध बनाउनका लागि गरिने क्रियाकलापलाई चुस्त र व्यवस्थित बनाउनका लागि आवश्यक कार्यलाई सभाले सम्वोधन गर्ने बताए ।
सभाका सदस्य तथा वडा नं. १ का वडाध्यक्ष चिरञ्जीवि पोखरेलले गाउँपालिकाले अकबरे खुर्सानी, दुघमा अनुदान, पर्यटकीय क्षेत्रको विकास, सुन्तला पकेट क्षेत्र निर्धारण र विदेशबाट फर्केका युवाको सीप परिचालनमा विशेष काम गर्नुपर्ने बताए । उनले यस क्षेत्रमा विगतदेखि भैगरेका कामलाई निरन्तरता दिदै जनताको माग केन्द्रित काममा ध्यान दिनुपर्ने बताए । वडा नं. २ वडाध्यक्ष ओमप्रसाद पोखरेलले पालिकाको योजना कार्यान्वयनको अवस्था कमजोर भएको बताए । मुख्य सडकहरुमा ठेकेदारले गरेको काम प्राविधिक रुपमा सन्तोषजनक नभएको र धुलोले जनतालाई हैरान बनाएकोले यस तर्फ पालिकाको ध्यान जानुपर्नेमा उनको जोड थियो ।
यस्तै सभाका सदस्य तथा वडा नं. ३ का वडाध्यक्ष नारायण कार्कीले जनताको जीवनस्तर सुधारमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । उनले छनौट भएका योजनाको सही ढंगबाट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । वडा नंं ४ का वडाध्यक्ष सोमकुमार कार्कीले सभाले यस आर्थिक वर्षमा सञ्चालन गर्नका लागि तय भएका योजना तथा कार्यक्रमका कठिनाइहरुको सहजिकरण गर्ने बताए । उनले आवश्यकता अनुसार जनताको मागमा आधारित योजना संशोधन र व्यवस्थित गर्न सभा सफल हुने विश्वास व्यक्त गरे ।
सभामा सभाका सदस्य तथा वडा नं. ६ का वडाध्यक्ष प्रकाश रायमाझीले गाउन्पालिकाका आम नागरिकको आवश्यकता र मागका आधारमा काम गर्नुपर्ने बताए । वडा नं. ७ का वडाध्यक्ष दानबहादुर कुंवरले कृषि विकासमा अधिक सम्भावना भएको पालिका भएकोले कृषि पर्यटनलाई जोडेर काम गर्नुपर्ने बताए । उनले पालिकाका ८० प्रतिशत जनता कृषिमा आत्मनिर्भर रहेको बताउदै १२ प्रतिशत जमिन बाझो अवस्थामा रहेकोले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
यसका साथै सभाका सदस्य मिरा राना, रञ्जना खनाल र दुर्गाप्रसाद ढकाललगायतले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचको सुनिश्चिता गर्नुपर्ने बताए । उनीहरुले पालिकामा बढ्दो रुपमा रहेका बसाइसराईको समस्या न्यूनीकरणका लागि आयआर्जन र रोजगारीको वातावरण निर्माणमा पहल गर्न आग्रह गरे ।
सभामा कार्यपालिका सदस्य सुनिल बस्यालले रिब्दीकोट गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पेश गरेका थिए । पेश भएको विधेयकमाथि छलफल गरिएको थियो । छलफल अनुसार विधेयकमा आवश्यक संशोधन पेश गर्न चाहने सदस्यहरुका लागि ४८ घण्टाको समय तोकिएको छ । विधेयक छलफलका लागि विधायन समितिमा पठाउने निर्णय समेत सभाले गरेको छ । सभाको अर्को बैठक आगामी पौष महिनाको २४ गते आइतबार विहान १० बजे बस्ने सभाका सचिव तथा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिए ।