विद्यार्थीका लागि न्यानो कपडा वितरण

पाल्पा/ रोटरी क्लव अफ पाल्पा लुम्बिनीले विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । तानसेन नगरपालिका वडा नं १०, तेल्घाको बालकन्या भगवती आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई कपडा वितरण गरिएको हो । क्लबले विद्यालयका नर्सरी देखि कक्षा ८ सम्म अध्ययनरत एक सय २६ विद्यार्थीहरुलाई एक /एक सेट ट्रैकसूट वितरण गरेको हो ।

रोटरी वर्ष २०२१/२२ मा एडप्ट गरिएको यस विद्यालयमा रोटरी वर्ष २०२२/२३ अर्थात यस वर्ष गरिने कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । रोटरी क्लब अफ पाल्पा लुम्बिनीका सदस्यहरुको आर्थिक सहयोगमा कपडा वितरण गरिएको क्लबका पे्रसिडेन्ट खड्ग जिरेलले बताए । उनले सबै सदस्यको सहयोगमा सामाजिक कार्य गर्न प्रोत्साहन मिलेको बताए । यसका साथै स्वार्थ भन्दा माथि सेवाको भावना स्थापित गर्न क्लब सफल भएको बताए । क्लबले निकट भबिष्यमा विद्यार्र्थी लक्षित निशूल्क स्वास्थ्य शिविर आयोजना गर्ने जानाएको छ ।

सामाजिक क्षेत्रमा लागेका सहयोगी हातहरुलाई एक सुत्रमा बाँधी सामाजिक रुपान्तरणको अभियानमा लाग्न क्लबले महत्वपूर्ण भूमिका खेलेको प्रेसिडेन्ट नोमिनी तथा तानसेन नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रदिप खनालले बताए । यसका साथै कार्यक्रममा क्लबको सार्भिस प्रोजेक्ट अन्र्तगत पर्ने यस कार्यक्रमका विषयमा प्रोजेक्ट डाइरेक्टर शिखा पहारीले जानकारी गराइन् ।

क्लवले छोटो समयमा धेरै सामाजिक क्षेत्रमा कार्य गरेको र यस विद्यालयलाई भौतिक सहयोगका रुपमा विद्यालय मर्मत, शौचालय निर्माण र शैक्षिक सुधार अन्र्तगत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गरेको सहयोग प्रति विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोचन तिमिल्सनाले आभार तथा धन्यवाद व्यक्त गरे । विद्यलयका प्रधानाध्यापक लक्ष्मण पौड्यालले क्लबले गरेका क्रियाकलापबाट विद्यालयको भौतिक र शैक्षिक सुधार भएकोमा खुसी व्याक्त गरेको सचिव मुक्तिराम भुसालले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब अफ पाल्पा लुम्बिनीका रोटरियनहरु, विद्यालयका शिक्षक,शिक्षिका, विद्याथीहरुको सहभागिता रहेको क्लबका पब्लिक इमेज डाइरेक्टर भक्तिराम न्यौपानेले बताए ।

सम्बन्धित खवर