निस्दीका कुडुले घर लोप हुँदै

धनबहादुर ठाडा

पाल्पा/ गाउँ घरमा हुने गोलो आकारको कुडुले घरले सबैको मन लोभ्याउने गर्दछ । ढुंगा र माटोको गारोसँगै , खरले छाएको , रातो माटोले लिपपोत गरी चिटिक्क परेको कुडुले घरले साच्चिकै धेरैलाई मोहित पार्ने गर्दछ । जहाँ मगर बस्ती छ,त्यहाँ कुडुले घर भेटिन्छ । कुडुले घर मगर जातिको सांस्कृतिक पहिचानसँग जोडिएको पाइन्छ । विशेषगरी जाडो मौसम र चिसो हावापानी भएको ठाउँमा कुडुले घरको अति उपयुक्त हुने देखिन्छ । तर,निस्दी गाउँपालिकामा पछिल्लो समय पुरानो साँस्कृति महत्वका कुडुले घर लोप हुँदै गएको छ ।

बढ्दो शहरीकरण र आधुनिकताको नाममा पुर्खाहरुको पुरानो संस्कृति र परम्परा पनि हराउँदै गएको छ । के गाउँ के शहर सबैतिर आधुनिक जमानाले धपक्क ढाकेको देखिन्छ । यि र यस्ता थुप्रै मौलिक संस्कृतिहरु लोप भएका छन् । त्यसो त निस्दी मगर जातिको बाहुल्यता रहेको गाउँपालिका हो । यहाँको मगर समुदाय भित्र कहीँ न कतै कुडुले घर आज पनि भेटिन्छ । तर सबै पुराना र जीर्ण अवस्थामा रहेको मात्रै देखिन्छ । ति सबै कुडुले घर पुराना बुढापाकाहरुले बनाएका हुन । अहिले हामीसँग जतिपनि पुराना कला र संस्कृति छन् , ति सबै पुर्खाहरुको देन र हाम्रा सम्पत्ति हुन । यस्ता मौलिक रहनसहन , कला संस्कृति र परम्परा पुस्तान्तरण हुन सकेको छैन ।

निस्दी – ३ , झिरुबासको खादरमा भने अहिले पनि केहि कुडुले घरहरु देख्न पाइन्छ । यहाँको कुडुले घर देखेर बाहिरबाट आउने आन्तरिक पर्यटकहरू आश्चर्य मान्ने गर्दछन् । खादरको कुडुले घरले साच्चिकै सबैको मन लोभ्याउने गरेको देखिन्छ । यसले निस्दीमा आन्तरिक पर्यटक बढाउन सहयोग गरेको छ । त्यसो त खादर रेडवर्नको पालादेखि नै चर्चामा आएको गाउँ हो । यहाँ बाह्रै महिना जाँडो हुने गर्दछ । गर्मीको महसुस खासै गर्न पाइदैन । पहिले खादरमा प्रायःजसो सबैको कुडुले घर मात्रै थिए । अहिले आएर ति घरहरू विस्थापित भएको स्थानीय ओमलाल थापाले बताए । उनका अनुसार अहिले आठ दश वटा कुडुले घर रहेको र त्यो पनि विस्तारै हटाउनु पर्ने बाध्यता रहेको बताए । गाउँपालिकाको सुरक्षित नागरिक आवास कार्यक्रम तथा खर रहित छानामुक्त अभियान सफल पार्नको लागि पनि कुडुले घर हटाउन बाध्य भएको स्थानीयहरुको भनाइ छ । कुडुले घर देख्दा सानो भएपनि आधुनिक घरहरु भन्दा राम्रो भएको स्थानीय दिल बहादुर ढेंगाको भनाइ छ । यहाँको कुडुले घर देखेर बाहिरका मान्छेहरुले अचम्म मान्दै फोटो खिचेर लाने समेत गरेको उनले बताए ।

कुडुले घर ढुंगा र माटोको गारो लगाएर बनाउने गरिन्छ । छानो खरले छाउने गर्दछन् । एकपल्ट छाएपछि चार पाँच वर्षसम्म छाउनु पर्दैन । हिजोआज खरबारीको समस्यासंगै ढुंगामाटोको गारोले दिगोपन नहुने भएकोले , पुरानै शैलीमा इट्ट र सिमेन्टको गारो लगाइ कर्कटपाताले छाएर कुडुले घरको संरक्षण गर्न सकिने झिरुबासका वडा अध्यक्ष नविन्द्र थापा सोतीले बताए । अहिले पनि निस्दीको सातै वडामा यस्तो प्रकृतिको घर रहेको पाइन्छ । कुडुले घरले ऐतिहासिक,पुरातात्विक संस्कृतिसँगै जातीय पहिचान झल्काउने गर्दछ । निस्दी ६ , अर्चलेका वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले कुडुले घरको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहने बताए । उनले आगामी दिनमा पालिकाले विशेष योजनाका साथ कुडुले घर संरक्षणमा अगाडि बढने बताए ।

निस्दी गाउँपालिका आन्तरिक पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र हो । यहाँको मौलिक संस्कृतिलाई जोगाउन आगामी वर्षहरुमा पालिकाले महत्वपूर्ण र समयानुकूल कार्यक्रम लागु गरिने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । कुडुले घर पुरानो संस्कृति झल्काउने , वातावरण मैत्री जाडो ठाउँमा स्वास्थ्यको दृष्टिले पनि उपयुक्त रहेकोले यसको संरक्षण आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत दयालको भनाइ छ । त्यसो त निस्दीले विगतका वर्षहरूमा कुडुले घर संरक्षणको लागि कार्यक्रमहरु नल्याएको चाहिँ होइन । प्रत्येक वडामा यस्ता घरको पहिचान गरी छाना फेर्न भनेर रकम समेत सहयोग गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । आगामी दिनमा पनि कुडुले घरलाई जोगाइराख्न पालिका सम्बन्धित घरधनीसँग बसेर योजना तथा कार्यक्रम तयार गर्ने पालिका अध्यक्ष सारुको भनाइ छ ।

सम्बन्धित खवर