
पाल्पा/ तानसेनको बतासेडाँडामा होटल करुवा महलले आफ्नो सेवा शुभारम्भ गरेको छ । पाल्पामा आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि सरल र सुलभ मुल्यमा सेवा दिने उद्देश्यले होटल सुरु गरिएको सञ्चालकले बताएका छन् । करिव दुई करोड लागतमा सुरु भएको होटलमा अहिले आवासका लागि आठ ओटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । यसका साथै स्थानीय परिकार सहित अन्य मुलुकहरुबाट आउने पर्यटकहरुका लागि रुचि अनुसारको खाना, नास्ता उपलब्ध हुनेगरी रेष्टुरेण्ट सञ्चालन गरिएको छ ।
होटलको शुक्रबार पाल्पा क्षेत्र नं. १ का नवनिर्वाचित संघीय सांसद नारायणप्रसाद आचार्यले शुभारम्भ गरेका हुन् । सासंद आचार्यले पाल्पा पर्यटकीय जिल्ला भएकोले यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि राम्रो आथित्यता प्रदान गर्न सके होटल व्यवसाय सफल हुने बताए । तानसेनमा पछिल्लो समय होटल व्यवासायी थपिए पनि ग्राहकको चाहना अनुसारको सेवा प्राप्त गर्न नसकेको गुनासो बढ्दै आएको उनको भनाइ छ । यस विषयमा ध्यानमा दिएर सेवा प्रवाह गर्न आग्रह समेत गरे । उनले अहिले बजारको आर्थिक अवस्था कमजोर भएको समयमा पनि होटलको सेवा सुरु गर्ने आट गरेकोमा सञ्चालकलाई धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गरे । सांसद आचार्यले तानसेनको बतासेडाँडामा भएको सम्भावनालाई स्थानीय सरकारले पहिचान गरेर सोही अनुसारको संरचना निर्माण गरी व्यवसायीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
पाल्पा उद्योग वाषिज्य संघका अध्यक्ष शैलेन्द्र भटराईले पाल्पामा पछिल्लो समय ठुलो लगानीमा होटल व्यवसाय गर्नेको संख्यामा वृद्धि भएको बताए । उनले व्यवसायीहरुको हित केन्द्रित गतिविधि गर्न स्थानीय सरकारले नसकेको समेत बताए । वाषिज्य संघ सधै व्यवसायीहरुको हितका निम्ती क्रियाशील रहने प्रतिवद्धता जनाउँदै सफलताको शुभकामना व्यक्त गरे ।
होटल सञ्चालक विष्णुबहादुर कार्कीले ग्राहकहरुलाई फरक आतित्यथाको महसुस गराउनेगरी सेवा सुरु गरेको बताए । उनले पर्यटन प्रवद्धर्नमा सहयोग पुग्नेगरी सबै क्षेत्रसंगको समन्वय र सहकार्यमा सेवा सञ्चालन गर्ने बताए । तानसेन ५ को बतासेडाँडामा रहेको होटलबाट विभिन्न हिमश्रृखलाहरुको अवलोकन गर्न सकिन्छ । सञ्चालक कार्कीले आगामी दिनमा पाल्पाको पर्यटकीय क्षेत्रको अवलोकनका लागि पर्यटकलाई घोडा सवारको व्यवस्था गर्ने, निरन्तर सेवा लिने ग्राहकका लागि उपभोक्ता सेवा कार्ड लागु गर्ने, जन्मोत्सव पाटीमा निशुल्क फोटोग्राफरक उपलब्ध गराउने जस्ता योजना रहेको बताए । होटको सेवा शुभारम्भका अवसरमा पौष मसान्त सम्म चिया निशुल्क उपलब्ध हुन्नेछ भने अन्य परिकार र सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक कार्कीले जानकारी दिए ।