
पाल्पा/ माथागढी गाउँपालिकाको समग्र शैक्षिक अवस्था सुधारका लागि समक्ष परियोजना संचालनमा आएको छ । ब्रिटिश काउन्सिल संगको सहकार्यमा माथागढी गाउँपालिकाले परियोजना सुरु गरेको हो । चालु आर्थिक वर्षबाट सुरु भएको परियोजना तीन वर्षसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय निर्माणका लागि परियोजनाका कार्यक्रम केन्द्रित रहने छन् ।
कार्यक्रमका गतिविधि बारे जानकारी गराउन आयोजित कार्यक्रममा माथायढी गाएनपालिकाका अध्यक्ष यमबहादुर चिदीले शिक्षाको विकासका लागि पूर्वाधार भन्दा शिक्षकहरुको क्षमता विकास आवश्यक पर्ने बताए । उनले शिक्षा, स्वास्थ्यमा गरेको लगानीको उपलब्धी तत्काल नदेखिए पनि पछि प्राप्त हुने बताए । पालिका भित्रको शिक्षामा देखिएको चुनौती र सम्भावनालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको समेत बताए । अध्यक्ष चिदीले शिक्षक,अभिभावक र विद्यार्थीको क्षमता विकास,समान बुझाई नहुँदा सम्म शैक्षिक उपलब्धी नहुने बताए । उनले परियोजनाको अन्त्यमा अहिलेको माथागढीको शैक्षिक सूचांकको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्गंचेले भूगोलका हिसावले पछाडी परेको पालिकाको शैक्षिक उपलब्धीको आंकडा कमजोर रहेकोले परियोजना सञ्चालन गरिएको बताइन् । यस परियोजना मार्फत विद्यार्थीको शिकाई उपलब्धीको ग्राफ बढ्ने, शिक्षकहरुमा शिक्षण सिकाईको सीपमा वृद्धि हुने बताइन् ।
गांँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले अहिलेको शैक्षिक अवस्था सुधारका लागि कार्यक्रम राम्रो भएको बताए । उनले आर्थिक रुपमा मितव्ययी भएर कम खर्चमा नमुना उपलब्धी प्राप्त गर्नेगरी काम भएको बताए ।
गाउँपालिकाका सामाजिक विकास समितिका संयोजना तथा वडा नंं १ का वडाध्यक्ष राजकुमार पंन्थीले शैक्षिक पूर्वाधारको विकास संगै शिक्षण सिकाईको वृद्धिका लागि कार्यक्रम लागू गरिएको बताए । उनले यो परियोजना देश भरमा पहिलो पटक माथागढी गाउँपालिकाले सञ्चालन गरेको समेत बताए । सञ्चालनमा आएको परियोजनाले माथागढीमाको समग्र शिक्षाको गुणस्तर बढाउन सहयोग पुग्ने बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले शैक्षिक सुधारका लागि परियोजना सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले शिक्षक क्षमतावान हुँदा विद्यार्थीको सिकाई उपलब्धीमा प्रभाव पर्ने समेत बताए ।
माथागढी गाउँपालिकामा ४ संस्थागत र ४१ सामुदायिक विद्यालयहरु रहेका छन् । यो परियोजनाबाट सबै विद्यालयको समान सिकाई उपलब्धी हुनेमा पालिका विश्वस्त रहेको छ । परियोजना भित्र रहेर गुणस्तरीय शिक्षाका लागि पालिकाको अवस्थाका विषयमा आधाभूत सर्वेक्षण गरेर काम अगाडि बढाएको पालिकाका शिक्षा शाखा प्रमुख प्रेमबहादुर बाह्रघरेले बताए । उनका अनुसार सर्वेक्षणमा प्राप्त नतिजाको विश्लेषण अनुसार क्रियाकलाप तयार गरिएको बताए ।
अहिले पालिकाको शैक्षिक अवस्था कमजोर देखिएको साथै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या न्यून रहेको परियोजनाका संयोजक अशेष भट्राईले जानकारी दिए । उनले सिकाई उपलब्धी प्रभावकारी नहुँदा पालिकाका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुनुपरेको बताए । सेवा प्रवेश परीक्षामा जित्न, विश्व बजारमा बिक्न र स्वरोजगारका साथै आर्थिक सम्वृद्धिमा विद्यार्थीलाई क्षमतावान बनाउन परियोजनाले सहयोग गर्ने ब्रिटिश काउन्सिलका अंग्रेजी प्रमुख भोगेन्द्र लामिछानेले बताए । उनले विशेष गरी पालिका भित्रका विद्यार्थीको गणीत,विज्ञान र अंग्रजीको सिकाई उपलब्धी कमजोर भएको पाइएको समेत बताए ।
यस परियोजनामा शिक्ष,विद्यार्थी,प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका,शिक्षक अभिभावक संघलगायतका सरोकारवालाहरुको क्षमता विकासका क्रियाकलाप हुनेछन् । सिकाई उपलब्धीका लागि आवश्यक पाठ्यक्रम तयार गरीने छ । निरन्तर रुपमा अनुगमन र मुल्याँकन हुने छ । परियोजनाको अन्त्यमा कम्तिमा पचार प्रतिशत शिक्षकले अंग्रेजी सही रुपमा अध्यापन गराउन सक्ने बन्नेछन् । यसका साथै चालिस प्रतिशत शिक्षकहरुले प्रभावकारी शिक्षण सिकाईकार्यको तालिम दिन सक्षम हुने विश्वास पालिकाको छ । जसले पालिकाको शैक्षिक सुधार योजनामा मद्दत गर्ने छ । विद्यार्थीहरुले विभिन्न ग्रान्टका लागि आफ्नो परियोजना पेश गर्ने वातावरण तयार हुने छ । यो परियोजनालाई प्रभावकारी बनाउन शिक्षक क्लब,विद्यार्थी क्लब निर्माणका साथै क्षमता विकास र जीवन उपयोगी सीप विकासका कार्यक्रम गरिने छ ।