
कमल अधिकारी
पाल्पा/ वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्या बढेसंगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले चालु आर्थिक वर्षको पाँच महिनामा राहदानीबाट साढे दुई करोड बढी राजस्व संकलन गरेको हो । साउनदेखि मंसिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानीको राजश्व दुई करोड ५४ लाख ५ हजार ५ सय रुपैयाँ संकलन भएको राहदानी फाँटले जनाएको छ ।
सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् । राहदानीको सिफरिसबाट राजस्व संकलन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञश्वर पन्थीले जाकारी दिए । उनका अनुसार पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नावालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने को संख्या तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । नेपाल सरकारले पछिल्लो समय विद्युतिय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरको छ ।
पाल्पामा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतिय राहदानी वितरणको चाप बढी नै छ । कार्यालयमै उपस्थित भएर प्रत्यक्ष अनलाइन फारम भरेर सेवा उपलब्ध गराइदैं आइएको नारव सुब्बा इन्द्रिरा श्रेष्ठ कार्कीले बताइन् । पहिले बाहिरबाट अनलाइन फारम भरेर राहदानी लिन आउने सेवाग्राहीलाई सास्ती र चर्को शुल्क तिनुपर्ने बाध्यता थियो । अहिले ई–पासपोर्ट बन्ने भएपछि जिल्ला प्रशासन कार्यलयमै राहदानीको लागि फारम भर्नुपर्ने छ । जसबाट सेवाग्राहीको संख्या दैनिक धेरै भएकोले टोकनको व्यवस्था मिलाएर सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिइन् ।
यसरी टोकन लिएर आफ्नो पालो आउने दिनमा तोकिएको राजश्व बुझाएर,अनलाइन फारम भर्ने,फोटो खिचाँउने काम गरिन्छ । अनलाइन फारम भरेको करिव एक महिनामा सहजै रुपमा राहदानी पाल्पा आइपुग्ने व्यवस्था छ । ई–पासपोर्ट बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।