पाल्पा/रम्भा गाउँपालिकाले आफ्नो पाँचवटै वडामा एकीकृत घुम्ती शिविर सकेको छ । एकीकृत सेवाबाट पाँच दिनमा सात हजार एक सय ८३ हज बढीले एकीकृत सेवा पाएका छन् । गाउँपालिकाले राखेको एकीकृत घुम्ती शिविरबाट नागरिकले विभिन्न १९ शिर्षकमा सेवा लिएका छन् । स्थानीय सरकारको अनुभूती गराउन वडामै घुम्ती सेवा सञ्चालन गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत राखेको घुम्ती शिविरमा सबैभन्दा धेरै सवै रोगहरुको जाँच,उपचार,परामर्श र प्रेषण स्वास्थ्य सेवातर्फ दुई हजार २ सय ६१ जनाले सेवा लिएका छन् । शिविरमा चिकित्सकसहितको टोलीले सेवा भएकाले रोगहरुको जाँच, उपचार, परामर्श सेवामा नागरिकको बाक्लो उपस्थिति रहेको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।
शिविरमा आँखा जाँच गर्ने एक हजार सय ३ जनामध्य २२ जना विद्यार्थीलाई चश्मा निःशुल्क उपलब्ध गराइएको लायन्स लाकौल आँखा अस्पताल तानसेनका मिनु कार्कीले जानकारी दिए । मोतीविन्दु निदान भएकाहरूका लागि निःशुल्क अप्रेसनका लागि ६२ जनालाई गाउँपालिकाले ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा आगामी माघ महिनाको दोस्रो साता अप्रेसन शिबिर राख्ने निश्चित गरेको प्रमुख अर्यालले जानकारी दिए । यस्तै कृषि प्रविधिसम्बन्धी सल्लाह तथा परामर्श र बीउबिजन वितरणतर्फ एक हजार एक सय ६९ जनाले सेवा लिएका छन् । पशुपन्छीसम्बन्धी सल्लाह तथा परामर्श र औषधि वितरण सेवा ८ सय ३७ जनाले प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
सबै रोगहरूको जाँच, उपचार, परामर्श र प्रेषण आयुर्वेदतर्फ ४ सय ४५ जनालाई सेवा दिइएको छ । एकीकृत सेवाअन्तर्गत योजना सम्झौता तथा योजनासम्बन्धी काम एक सय ९ वटा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए । अपांगता परिचयपत्र वितरण ५७ जनालााई, गरिबी परिचयपत्र ८५ जनालाई, गरीब, विपन्न, असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण ६६ जनालाई प्रदान गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मीना आचार्यले बताइन् ।
शिविरमा भिडियो एक्सरे सेवा लिनेको संख्या एक सय २८ छ । प्रयोगशाला सेवा लिनेको संस्था तीन सय २० रहेको छ । यस्तै पाठेघरको मुखको क्यान्सर जाँच गर्नेहरू तीन सय २९ जना, पाठेघर खसेकोमा रिङ प्रेसरी राख्ने सात जना, सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार एक सय ११ जनाले लिएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले बताए । लामो अवधिको परिवार नियोजनका साधन राख्ने झिक्ने १८ जनाले सेवा लिएको उनले बताए ।
पाँच दिनको शिविरमा वडा नंं १ हुंँगीमा एक हजार ४ सय २३ जना, वडा नं. २ मा एक हजार ६ सय ४९,वडा नं. ३ मा एक हजार २ सय ४२,वडा नं. ४ मा एक हजार २ सय ९४ र वडा नंं ५ मा एक हजार ५ सय ७५ जनाले स्वास्थ्य सेवा सहित अन्य विविध सेवा लिएको हुँगी स्वास्थ्य चौकीका प्रमुख डाक्टर पुजन श्रेष्ठले जानकारी दिए ।
रम्भा गाउँपालिकाले सबै वडामा एकीकृत स्वास्थ्य सेवाका साथै घरदैलोमै सेवा दिने गरी कार्यक्रम सञ्चालन गरेको हो । घरदैलोमै चिकित्सकसहितको स्वास्थ्य जाँच, भिडियो एक्स–रे सेवा, प्रजनन् स्वास्थ्य सेवा, आँखा जाँच, स्त्रीरोग विशेषज्ञ सेवा लिन पाएपछि पालिकावासी खुसीका साथ शिविरमा सहभागी भएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
गाउँमा सबै सेवा पाउने भएपछि नागरिकको भीड लागेको पालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार शिविरमा लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, नेपाल परिवार नियोजन संघले सहयोग गरेको बताइन् ।